पोखरामा ५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित श्रीकृष्ण प्रकाट्य महामहोत्सव सम्पन्न

Share:

पोखरा । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर पोखरा-८ रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीकृष्ण प्रकाट्य महा महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। हरेक वर्ष झैं यस वर्ष पनि मन्दिरले कृष्ण जन्माष्टमीको अवसरमा विविध धार्मिक कार्यक्रमसहित महोत्सवको आयोजना गरेको हो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरमा श्रीकृष्ण मन्दिरको पहिचान स्थापित गर्न पोखरा-८ रत्नचोकस्थित मन्दिरलाई ूकृष्ण मन्दिरू को रूपमा परिचित गराउने पहल महानगरबाट गरिने बताए।

पोखराभित्र तीनवटा श्रीकृष्ण मन्दिर भए तापनि एउटै स्थानलाई चिनारी दिने अभाव रहेको उल्लेख गर्दै उनले धार्मिक पर्यटन प्रवर्द्धनका लागि महानगरबाट आवश्यक सहयोग प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे।

१०८ तारतम सागर पाठ पारायण कार्यक्रमको घोषणा

श्रीकृष्ण प्रणामी मन्दिरले पोखरामा धार्मिक पर्यटन प्रवर्द्धन गर्न ‘१०८ तारतम सागर पाठ पारायण’ कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिँदै प्रमुख आचार्यले यस अभियानमा महानगरको पूर्ण साथ रहने बताए। करिब ३४ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको मन्दिरले धार्मिक र सांस्कृतिक गतिविधि मार्फत पर्यटक भित्र्याउने योजना अघि सारेको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले धार्मिक कार्यक्रमहरूले समाजमा सकारात्मक ऊर्जा फैलाउने र हिंसा, द्वन्द्व तथा नकारात्मक सोच हटाउन मद्दत गर्ने धारणा राखिन्। उनले धर्मले व्यक्ति र समाजमा नैतिकता, सहिष्णुता र समृद्धिको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिन्।

एक महिनासम्म श्रीमद्वीतक चर्चा र कथा प्रवचन

श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन ढकालले महोत्सवको अवसरमा गत असार ३१ देखि साउन ३१ गतेसम्म एक महिनासम्म सञ्चालित श्रीमद्वीतक चर्चा तथा श्रीकृष्ण कथा प्रवचन सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए। कथा प्रवचन भारतबाट पधारेकी धर्म प्रचारिका साध्वी उर्वशी माताजी को मुखारविन्दबाट संगीतमय शैलीमा प्रस्तुत गरिएको थियो, जसमा गायक सुनिल राई र संगीतकार अनुपम भुजेलले साथ दिएका थिए।

ढकालका अनुसार मन्दिर परिसरमा सिसमहल निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट आर्थिक सहयोग प्राप्त भइसकेको छ, तर निर्माण कार्य सम्पन्न गर्न पोखरा महानगरपालिकाको थप सहयोग आवश्यक रहेको उल्लेख गरे। उनले आगामी असोज महिनामा आयोजना गरिने १०८ तारतम सागर पाठ पारायण कार्यक्रममा करिब ५ लाख धार्मिक पर्यटक पोखरा भित्र्याउने लक्ष्य रहेको पनि जानकारी दिए।

सांस्कृतिक कार्यक्रम र भक्तजनको उत्साह

महोत्सवमा एस.के. डान्स स्कूल तथा बाइजुराज महिला समिति द्वारा श्रीकृष्ण सम्बन्धी आकर्षक नृत्य प्रस्तुति दिइएको थियो। कार्यक्रमका संयोजक लक्ष्मण बरालका अनुसार एक महिनासम्मको कथा वाचनमा हजारौं भक्तजनको उत्साहजनक उपस्थिति रहेको थियो। एमआरआर टीम पोखरा द्वारा प्रस्तुत भजनमा भक्तजनहरू झुमेका थिए भने केदारेश्वर मन्दिरको तर्फबाट विशेष महा आरती समेत गराइएको थियो।

कार्यक्रममा संस्थाका उपाध्यक्ष गोपाल ठकुरीले स्वागत मन्तव्य राखेका थिए भने संयोजक केशवप्रसाद बरालले धन्यवाद ज्ञापन गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: