
पोखरा । पोखरा र बागलुङबाट एक साथ प्रकाशित हुँदै आएको ढोरपाटन दैनिक आफ्नो २३औं वर्षमा प्रवेश गरेको छ। आइतबार पोखरामा आयोजित एक विशेष समारोहका बीच वार्षिकोत्सव मनाइएको हो।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बागलुङमा जन्मिएर पर्यटकीय राजधानी पोखरामार्फत गण्डकीको यात्रा तय गर्नु गर्वको विषय भएको बताए। “बागलुङमा जन्मिएर पोखरा हुँदै गण्डकीको यात्रा तय गर्ने हिम्मत राखेको ढोरपाटन अब अझै स्थापित हुने विश्वास लिएको छु,” उनले भने।
मेयर आचार्यले प्रविधिको विकाससँगै सञ्चारमाध्यम र पत्रपत्रिकाको महत्व विश्वव्यापी रूपमा अझ बढिरहेको उल्लेख गरे। उनले अमेरिका भ्रमणको अनुभव सुनाउँदै त्यहाँ पनि पत्रपत्रिका अझै प्रभावशाली देखिएको बताए। “डिजिटल युगमा पनि दस्तावेजीकरणका लागि पत्रपत्रिका सधैं महत्वपूर्ण रहन्छन्,” उनले थपे।
सो अवसरमा गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीले अब पत्रपत्रिका नविकरणको कार्य पोखराबाटै हुने जानकारी दिइन्। उनले संघीयताको सही अभ्यास प्रेस रजिष्ट्रार कार्यालयबाट सुरु हुने भन्दै अब पत्रकारहरूलाई नविकरणका लागि काठमाण्डौ जानु नपर्ने बताइन्।
उनले सञ्चार क्षेत्रमा सहकार्य, सम्मान र एकताको आवश्यकतामा जोड दिँदै भनिन्, “सञ्चारमाध्यम र सञ्चारकर्मीबीच सहकार्य भयो भने मात्र साँचो गन्तव्यमा पुग्न सकिन्छ।” साथै प्रेस स्वतन्त्रता जोगाउन सञ्चारमाध्यमको एकता अपरिहार्य रहेको उनले बताइन्।
समारोह ढोरपाटन दैनिकका प्रधान सम्पादक हरिनारायण गौतमको अध्यक्षता, पोखरा ब्युरो प्रमुख बासुदेव मिश्रको सञ्चालन र कार्यकारी सम्पादक रामकृष्ण बोहोराको धन्यवाद मन्तव्यका साथ सम्पन्न भयो।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछाने, नेपाल पत्रकार महासंघ गण्डकीकी महासचिव जमुना वर्षा शर्मा, नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा, गलकोट नगरपालिकाका उपप्रमुख फमलाल निउरे लगायतले शुभकामना मन्तव्य दिएका थिए।
वार्षिकोत्सवको अवसरमा स्याङ्जा संवाददाता अर्जुन काफ्ले र व्यवस्थापक राजेन्द्र नेपालीलाई उत्कृष्ट संवाददाता तथा कर्मचारीको रूपमा सम्मान गरिएको थियो। महानगर प्रमुख आचार्यले दुबै जनालाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरे।
ढोरपाटन दैनिक ले हरेक वर्ष उत्कृष्ट पत्रकार र कर्मचारीलाई सम्मान गर्दै आएको छ भने दुई–दुई वर्षमा सामाजिक क्षेत्रका अगुवाहरूलाई पनि सम्मान गर्ने परम्परा रहेको छ।
२०५९ साल भदौ १ गते स्थापना भएको ढोरपाटन दैनिक ले राजतन्त्रकालमा बागलुङको ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने जिम्मेवारी वहन गरेको थियो। संघीयता कार्यान्वयनपछि पत्रिकाले बागलुङबाट पोखरामा यात्रा गर्दै आफूलाई गण्डकी प्रदेशस्तरीय पत्रिकाका रूपमा स्थापित गरेको प्रधान सम्पादक गौतमले जानकारी दिए।
गण्डकीका नविनतम् प्रयासहरू, पोखरा पर्यटन वर्ष २०२५ लगायतलाई ध्यानमा राखी विशेषांक प्रकाशित गरिएको र आगामी दिनहरूमा पनि यस्तै स्तरीय सामग्री प्रस्तुत गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
