गण्डकी प्रदेशका १० स्थानमा करियर बुथ स्थापना हुने

Share:

पोखरा । गण्डकी प्रदेशमा शैक्षिक प्रणाली कार्याशाला (i-Lab) नेपाल कार्यक्रमअन्तर्गत करियर बुथ स्थापना हुने भएको छ। प्रदेशका १० स्थानमा परीक्षणका रूपमा करियर बुथ सञ्चालन गरिनेछ।बुथ सञ्चालनका लागि छनोट भएका कर्मचारीहरूलाई लक्षित गरी बुथको मोडालिटी, सञ्चालन प्रक्रिया र करियर परामर्श प्रणालीसम्बन्धी अभिमुखिकरण कार्यक्रम आइतबार पोखरामा सम्पन्न भएको छ।

प्राविधिक तथा व्यवसायिक शिक्षाको सुदृढीकरणका लागि i-Lab कार्यक्रम सञ्चालनमा ल्याइएको हो। कार्यक्रमकी गण्डकी प्रदेश संयोजक कविता तिवारी गैरेले जानकारी दिँदै भनिन्, “यो कार्यक्रम प्राविधिक शिक्षाको सुधार र रोजगारीको अवसर सृजना गर्न महत्त्वपूर्ण हुनेछ।”

उक्त कार्यक्रम काठमाडौं विश्वविद्यालय र स्विजरल्याण्डको ETH Zurich विश्वविद्यालयको साझेदारीमा सञ्चालित हुनेछ। काठमाडौं विश्वविद्यालयले प्रस्तुत गरेको प्रस्तावको आधारमा करियर बुथ स्थापनाका लागि गण्डकी प्रदेशको टिम छनोट गरिएको हो। ANBQ-S परियोजना गण्डकीका प्रबन्धक चन्द्रप्रसाद तिमिल्सिनाका अनुसार, करियर बुथ स्थापनाका लागि गण्डकी प्रदेशका विभिन्न शैक्षिक तथा व्यवसायिक संस्थासँग सहकार्य गरिएको छ।

करियर बुथ स्थापनाको समझदारी भएका संस्थाहरूमा गण्डकी प्रदेश सरकार रोजगार सूचना केन्द्र,प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी ) गण्डकी, व्यवसाय प्रवद्र्धन केन्द्र, पोखरा महानगरपालिका, वालिङ नगरपालिका स्याङ्जा, माछापुच्छ्रे गाउँपालिका कास्की, पोखरा प्राविधिक शिक्षालय, फूलबारी, किसान प्राविधिक शिक्षालय स्याङ्जा, उद्योग वाणिज्य महासंघ गण्डकी तथा पोखरा भ्याली टेक्निकल इन्स्टिच्युट रानीपौवा रहेका छन्।

व्यवसाय प्रवद्र्धन केन्द्र पोखराका कार्यकारी निर्देशक नवराज अधिकारीले करियर बुथले स्थानीय युवालाई रोजगारी, सीपमूलक तालिम र करियर परामर्शमा पहुँच बढाउने अपेक्षा व्यक्त गरे।सिटीईभिटी पोखरा कार्यालयका प्राविधिक अधिकृत शरद कोइरालाका अनुसार, बुथमार्फत पाँच प्रकारका व्यक्तिहरूको करियर विकासका लागि आवश्यकताको पहिचान गरी परामर्श प्रदान गरिनेछ।

करियर बुथले प्राविधिक शिक्षा लिईसकेका वा अध्ययन गर्न इच्छुक व्यक्ति, तालिम र रोजगारी खोज्ने व्यक्ति, उद्यमशीलता विकासमा इच्छुक व्यक्तिहरूलाई लक्षित सेवा दिनेछ। बुथमार्फत पूर्वपरामर्श, सेवाको समन्वय र दीर्घकालीन रोजगारीका लागि आवश्यक सहयोग प्रदान गरिनेछ। साथै सरकारी, गैरसरकारी र निजी क्षेत्रका सरोकारवाला संस्थासँग समन्वय गरेर तालिम, सीप परीक्षण, रोजगारी र उद्यमशीलता जस्ता सेवाहरू पनि उपलब्ध गराइनेछ।

करियर बुथमार्फत सेवाग्राहीको पेशागत विकासमा आवश्यक तालिम, परामर्श, समन्वय र सहयोग प्रदान गरिँदा गण्डकी प्रदेशमै दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने विश्वास लिइएको छ।

कमेन्ट गर्नुहोस्
Share: