
पोखरा। नेपाली नारीहरूको महान पर्व हरितालिका तीज पछिल्ला वर्षहरूमा सामूहिक रूपमा मनाउने परम्परा बढ्दै गएको छ। वेदनाका स्वरहरूसँगै महिला हक अधिकारबारे छलफल गर्ने माध्यम बनेको तीजमा अब महिलाहरू सामूहिक दर खाएर रमाउने चलन समेत विस्तार भएको छ।
पोखरा महानगरपालिका वडा नं २८ पहरेपानीस्थित वास्तोला कुल सेवा समितिको ट्रष्ट भवनमा बास्तोला वन्दु समाजले तीजको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा महिलाहरूले सामूहिक दर खाएर, नाचगान गर्दै पर्व मनाएका थिए। कार्यक्रममा विवाहपश्चात् बाहिर गएका आफन्त महिला र तीन पुस्तासम्मका सदस्यहरूको जमघट भएको थियो। लामो समयपछि भेटघाट भएको अवसरले पर्वलाई झनै भावनात्मक बनाएको सहभागीहरूले बताए।
कार्यक्रममा दाजुभाइहरूले तयार पारेका पुलाउ, सादा भात, पिढालुको गाभा, तामा, पनिर लगायतका अर्गानिक परिकारहरूसहितको दर समावेश गरिएको थियो। कुल सेवा समितिका सल्लाहकार तथा सञ्चारकर्मी हरिप्रसाद बास्तोलाले सबैलाई शुभकामना दिँदै तीज अब भेटघाट र आत्मीयता अभिवृद्धिको पर्वको रूपमा विकसित हुँदै गएको बताए। ग्रामीण क्षेत्रमा हुने यस्ता कार्यक्रमहरूले मौलिक र अर्गानिक खानाको प्रवर्द्धनका साथै सामाजिक सम्बन्ध मजबुत बनाउनेमा उनले जोड दिए।
कार्यक्रम समिति अध्यक्ष हरिप्रसाद बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य सुरेन्द्र बास्तोला र स्थानीय आमा समूहले स्वागत गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा पोखरामा विभिन्न पेशा व्यवसायमा संलग्न बास्तोला वन्दु र आफन्तहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
