आज दिउँसो यी स्थानमा वर्षा हुने

Share:

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (भदौ २, सोमबार) दिउँसो र राति पनि देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ।महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार, आज दिउँसो : देशभर साधारणतया बदली (आकाशभरि बादल) रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई र पहाड भूभागलगायत देशका बाँकी पहाड भूभागका केही स्थान तथा बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

लुम्बिनी प्रदेशको तराई र बागमती प्रदेशको पहाड भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति : कोसी प्रदेश र मधेस प्रदेश प्रदेशलगायत बाँकी प्रदेशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) रहनेछ। मधेस प्रदेश, कोसी प्रदेशका पहाड तथा तराई भूभागलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशको तराई भूभाग तथा बागमती र गण्डकी प्रदेशका पहाड भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

मौसम महाशाखाकाम अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर छ। तथापि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेको छ।मौसम महाशाखाले यहाँ ‘दिउँसो’ शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र ‘राति’ शब्द रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।

मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ। अनि ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।

यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो। यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।

त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ। त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।

यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।

कमेन्ट गर्नुहोस्
Share: