
पोखरा । निवर्तमान मुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य खगराज अधिकारीले नेपाली नारीहरूको महान् पर्व हरितालिका तिज सामूहिक रूपमा मनाउने चलन बढ्दै गएको बताएका छन्।
माझठाना पोखरा सम्पर्क समाजद्वारा आज पोखरामा आयोजित ‘तिज विशेष तथा विद्यार्थी सम्मान कार्यक्रम’को उद्घाटन गर्दै उनले संस्थागत रूपमा तिज मनाउँदा आपसी आत्मीयता बढ्ने बताए।
उनले धर्म, संस्कृति र संस्कारको माध्यमबाट धार्मिक र पर्यटकीय प्रवर्द्धनमा टेवा पुग्ने उल्लेख गर्दै समाजमा बढ्दै गएको विकृति र विसङ्गतिविरुद्ध एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा समाजमा आवद्ध सदस्यका छोराछोरीमध्ये एसईई २०८१ मा सर्वोत्कृष्ट अंक ल्याएर उत्तीर्ण पाँच जना विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।
समाजकी अध्यक्ष सारदा लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पोखरा–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछाने, समाजका निवर्तमान अध्यक्ष भोलानाथ ओझा, सल्लाहकारद्वय डा. निर्मल लामिछाने र डा. मानवबहादुर केसी, सुर्यज्योती लाइफ इन्स्योरेन्स गण्डकी प्रदेश अध्यक्ष रामजी प्रसाद बराल, कार्यक्रम संयोजक सूर्यराज चपाई, विष्णुहरि तिवारी लगायतले समाजले निर्वाह गर्दै आएको भूमिकाका बारेमा प्रकाश पारेका थिए।
