
पोखरा । पोखरा महानगरपालिका-१६, बाटुलेचौरमा आयोजना हुने ऐतिहासिक तीज मेला २०८२ को तयारी तिव्र पारिएको छ। नेपाली नारीहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा भदौ ९ र १० गते हुने मेलाका लागि मूल समिति तथा विभिन्न उपसमितिहरू सक्रिय रूपमा कार्यरत छन्।
मेलासम्बन्धी जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा मूल समिति संयोजक तथा वडा सदस्य राजकुमारी बानियाँले २ दिनसम्म सञ्चालन हुने मेलाको तयारीमा ८ वटा उपसमितिसहित मूल समिति पूर्णतः केन्द्रित भएको जानकारी दिए।
मेलाको संरक्षण र प्रवर्द्धनमा वडाको भूमिका
वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले बाटुलेचौरमा परापूर्वकालदेखि सञ्चालन हुँदै आएको तीज मेला ऐतिहासिक एवं सांस्कृतिक महत्वको रहेको बताउँदै, वडा कार्यालय यसको संरक्षकका रूपमा रहँदै आएको स्पष्ट पारे। उनले भने, “वडा कार्यालय मेलाको आयोजक होइन, संरक्षक हो र समन्वयकारी भूमिका मात्रै निर्वाह गरेको हो।” उनले स्थानीय तह सदैव धार्मिक तथा सांस्कृतिक गतिविधिहरूको प्रवर्द्धनमा सहयोगी रहने प्रतिबद्धता पनि व्यक्त गरे।
आर्थिक पक्ष र सहयोगको अपेक्षा
विद्यालय स्तरीय तीज नृत्य प्रतियोगिताका संयोजक रामबहादुर बानियाँले आर्थिक असहजताको कारण मेला छोटो अवधिमा सीमित गरिएको भए पनि यसलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
अर्थ व्यवस्थापन उपसमितिका संयोजक अनिल बस्नेतले मेला सम्पन्न गर्न करिब १३ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको बताउँदै, विभिन्न व्यापारिक घराना तथा सहयोगीहरूबाट सहयोगको अपेक्षा गरिएको जानकारी दिए।
संस्कृति संरक्षणमा जोड
प्रचार-प्रसार संयोजक मोहन थापाले मेला सम्पूर्ण पोखरेलीको साझा गौरव रहेको उल्लेख गर्दै यसलाई सफल बनाउने जिम्मेवारी पनि सबै पोखरेली नागरिकको भएको बताए। कार्यक्रममा सहभागी पत्रकार तथा विभिन्न समितिका संयोजकहरूले तीजको परम्परागत हम्कायिलो भाकालाई संरक्षण गर्दै नयाँ पुस्तालाई यसको जानकारी गराउनु आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रम विवरण
सह-संयोजक मञ्जु नेपालीका अनुसार मेला भदौ ९ गते बिहानबाट सुरु हुनेछ। बिहान बाटुलेचौर मैदानदेखि महेन्द्र गुफासम्म प्रभातफेरी तथा महिला दौड प्रतियोगिता हुनेछ भने दिउँसो अन्तर-विद्यालय स्तरीय तीज नृत्य प्रतियोगिता आयोजना गरिनेछ। भदौ १० गते मेलाको औपचारिक उद्घाटन गरिनेछ, जसपछि समुहगत तीज गीत प्रस्तुति तथा विविध सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुनेछन्। मेलामा करिब २० वटा सांस्कृतिक टोलीहरूको सहभागिता रहनेछ।
कार्यक्रमको सञ्चालन मूल समिति सदस्य भीमबहादुर गायकले गर्नुभएको थियो। इतिहासविद्का अनुसार वि.सं. १५२५ भन्दा अगाडिदेखि नै सेती गङ्गामा स्नान गरी लामाचौर, अर्मला, घार्मी, कुरेचौर, हरिपाउँ, जुम्लेटी, भलाम लगायतका क्षेत्रका महिलाहरू बाटुलेचौरमा जम्मा भई तीजका भाका गाउने परम्परा रहिआएको जनविश्वास छ।
