गण्डकी प्रदेश हेभी इक्विपमेन्ट व्यवसायी महासंघको अध्यक्षमा अमृत घिमिरे पुनः चयन

Share:

पोखरा। नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ, गण्डकी प्रदेश समितिको अध्यक्षमा पुनः अमृत घिमिरे सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। पोखरामा सोमबार सम्पन्न महासंघको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनबाट घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।

समितिको उपाध्यक्षमा बालकृष्ण कोइराला, महासचिवमा भीमसेन क्षेत्री (भीम केसी), र कोषाध्यक्षमा लिला मोहन कुइक निर्वाचित भएका छन्। यस्तै, सदस्यहरूमा मंगल कुमाल, उमानाथ आचार्य र प्रेमबहादुर घिमिरे चयन भएका छन्।

कार्यक्रमको उद्घाटन सत्रमा नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष उमाकान्त शर्मा प्रमुख अतिथिको रूपमा सहभागी थिए। अध्यक्ष शर्माले हेभी इक्विपमेन्ट चालकको लाइसेन्स प्रक्रिया सहज नभएकाले व्यवसायीहरू समस्यामा परेको उल्लेख गर्दै भने, “देशका सातै प्रदेशमा यातायात कार्यालय हुँदा पनि लाइसेन्स परीक्षाका लागि काठमाडौं जानु पर्ने बाध्यता हटाउनुपर्छ।”

उनले सवारीसाधनको नामसारी, कर लगायतका विषयमा व्यवसायीहरू जटिल प्रक्रियामा पर्ने गरेको उल्लेख गर्दै व्यवसाय सुधारका लागि सबै प्रदेशका व्यवसायीहरूलाई एकीकृत गर्ने योजना रहेको बताए। शर्मा अनुसार महासंघले यसका लागि आधिकारिक वेबसाइट निर्माण प्रक्रिया अगाडि बढाएको छ।

बजार र व्यवसायको अवस्था

पोखराको अटो वेज प्रालिका सञ्चालक नारायण पैडेलले गण्डकी प्रदेशको करिब ६० प्रतिशत हेभी इक्विपमेन्ट बजार अटो वेजले ओगटेको जानकारी दिँदै, बजारको मागअनुसार नयाँ उपकरण उपलब्ध गराउँदै आएको बताए। कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष डा. ताराबहादुर कुँवर, निवर्तमान अध्यक्ष प्रेमलाल श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष जनक पराजुली, तथा अटो वेज प्रालिका कार्यकारी अधिकृत सन्ध्या पौडेलले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमको अध्यक्षता गण्डकी प्रदेश समितिका नव निर्वाचित अध्यक्ष अमृत घिमिरेले गरेका थिए। नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ कास्कीका अध्यक्ष बालकृष्ण कोइरालाले स्वागत मन्तव्य राखेका थिए भने सचिव भीमसेन केसी (भीम) ले कार्यक्रम सञ्चालन गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: