
पोखरा। हाइकर्स क्लब नेपालले आयोजना गरेको ६१औं हाईकिङ कार्यक्रममार्फत कास्की जिल्लाको धिताल गाउँ र अस्तामस्थित नौमती बाजा पार्कको प्रवर्द्धन गरिएको छ। साउनको अन्तिम शनिबार पोखरा-९ दरबारथोकमा सहभागीहरू भेला भई सुइखेतसम्म बसयात्रा गरेपछि, हेम्जाकोट सामुदायिक होमस्टे हुँदै धिताल होमस्टेसम्मको यात्रा गरिएको थियो। धिताल होमस्टेमा सहभागीहरूको स्वागत आयोजक सदस्य विशाल पौडेलले पुष्पगुच्छासहित गरेका थिए।
त्यसपछि सहभागी टोली धितालबाट अस्तामको नौमती बाजा पार्क, अस्ताम गाउँ, झिझिर्का हुँदै मिलनचोकसम्म पैदल यात्रा गर्दै हाईकिङको समापन गरिएको थियो। माछापुच्छ्रे गाउँपालिका-६ स्थित समुन्द्री सतहदेखि १,५५० मिटरको उचाइमा रहेको पोखरीडाँडा मा निर्माण गरिएको नौमती बाजा पार्क मा नर्सिङ्गा, सनई, सानो तथा ठूलो दमाहा, ट्याम्को, झ्याली, ढोलकलगायत परम्परागत बाजाहरू प्रदर्शनमा राखिएका छन्। यो स्थान सांस्कृतिक तथा ग्रामीण पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण गन्तव्य बन्दै गएको छ।
हाईकिङ कार्यक्रमको निरन्तरता
हाइकर्स क्लबले हरेक महिनाको अन्तिम शनिबार नियमित रूपमा हाईकिङ कार्यक्रम आयोजना गर्दै आएको छ। विगत ६ वर्षदेखि नियमित सञ्चालनमा रहेको यो कार्यक्रममा क्लबको आयोजनामा भए पनि यातायात तथा खानाको खर्च सहभागीहरूले आफैं बेहोर्दै आएका छन्। क्लबका अध्यक्ष कृष्ण रानाभाटका अनुसार दिनप्रतिदिन सहभागिता बढ्दै गएकोले कार्यक्रमलाई थप उर्जा मिलेको छ। कार्यक्रममा पहिलो पटक सहभागी जनसंचार डटकमका प्रकाशक तथा पत्रकार ओम हमालले, “हरेक महिना नयाँ गन्तव्यमा पैदल यात्रा गर्दै गाउँघरको अर्गानिक खानाको स्वाद लिन पाउने भएकाले यसको आकर्षण बढेको” बताए। साथै, ग्रामीण पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने यस्ता कार्यक्रमहरूलाई राज्यले पनि समर्थन गर्नुपर्ने धारणा व्यक्त गरे।
पवित्र बचत तथा ऋण सहकारीका अध्यक्ष तथा समाजसेवी बुद्धिबहादुर रानाभाटले हाईकिङको सुरुवाती दिनदेखि सहभागी रहँदै आएको बताउँदै, “हाईकिङले हिँड्ने बानीको विकास गराउँछ,” भन्ने धारणा राखे। हाईकिङ कार्यक्रममा व्यवसायी, राजनीतिककर्मी, विभिन्न पेशा व्यवसायमा आबद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो। साथै, पोखरा-११ फुलवारीकी कक्षा ५ मा अध्ययनरत १० वर्षीया सगुन वास्तोला पनि सहभागी बनेकी थिइन्।
आगामी ६२औं हाईकिङ श्रृङ्खला भदौको अन्तिम शनिबार (भदौ २८ गते) आयोजना हुने क्लबले जनाएको छ। कता जाने भन्ने निर्णय भने तेस्रो शनिबार गरिने क्लबका सदस्य पितम सेन ठकुरीले जानकारी दिए।





