लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको सरकारको पुनः पुष्टि

Share:

काठमाडौं। नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अभिन्न भूभाग भएको पुनः स्पष्ट पारेको छ। परराष्ट्र मन्त्रालयले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानमा समावेश आधिकारिक नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूभाग भएको स्पष्ट उल्लेख गरेको छ। मन्त्रालयका अनुसार सरकार यस अडानमा दृढ रहेको छ।

सरकारले यसअघि पनि भारत सरकारलाई सो क्षेत्रमा कुनैपनि भौतिक पूर्वाधार विस्तार, सडक निर्माण वा सीमा व्यापारलगायतका गतिविधि नगर्न आग्रह गर्दै आएको स्मरण गराउँदै, यस विषयमा मित्रराष्ट्र चीनलाई समेत जानकारी गराइसकेको जनाएको छ।

विज्ञप्तिमा नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक, धार्मिक र सामाजिक रुपमा घनिष्ठ रहेको स्मरण गराउँदै, सीमा समस्या शान्तिपूर्ण र कूटनीतिक वार्तामार्फत समाधान गर्ने नेपाल सरकारको प्रतिबद्धता दोहोर्याइएको छ।

नेपाल सरकारले राष्ट्रिय हित र सार्वभौमिकतामा आँच पुर्‍याउने कुनै पनि गतिविधिप्रति संवेदनशील रहेको र आवश्यक कदम चाल्न पछि नपर्ने संकेत समेत दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: