पोखरा-१७ स्थित पार्दी माविमा लायन्स क्लब अफ इन्फर्मेशन टेक्नोलोजीद्वारा सिसिटिभी क्यामेरा जडान

Share:

पोखरा। लायन्स क्लब अफ इन्फर्मेशन टेक्नोलोजीले पोखरा-१७, मुस्ताङचोकस्थित पार्दी माध्यमिक विद्यालयमा सिसिटिभी क्यामेरा जडान गरी विद्यालयलाई हस्तान्तरण गरेको छ।

बिहीबार आयोजित एक कार्यक्रममा क्लबले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर ढकाल र प्रध्यानाध्यापक वामदेव पौडेललाई क्यामेरा हस्तान्तरण गर्यो।

कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ आई नेपालका पूर्व गभर्नर लायन राम बहादुर बसेलले क्लबले सरकारी विद्यालयमा सिसिटिभी जडान गरी विद्यालय र वरपरको सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याएको बताए। उनले क्यामेराले विद्यालयमा हुने परीक्षा, निर्वाचन, तथा सडक वरपर हुने घटनाहरू निगरानी गर्न सहयोग पुर्‍याउने उल्लेख गरे।

विद्यालय व्यवस्थापन  समितिका अध्यक्ष ढकालले विद्यालयमा सिसिटिभी जडानका लागि वडा, महानगर तथा शिक्षा शाखामा अनुरोध गरे तापनि कुनै सुनुवाइ नभएको अवस्थामा समाजसेवी सुनिल हिराचनको पहलमा क्लबको सहयोग प्राप्त भएको बताए। उनले क्यामेराले विद्यालय सुरक्षासँगै बाहिरी गतिविधि निगरानीमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रम संयोजक तथा क्लबका निवर्तमान अध्यक्ष ई. दिनेश महर्जनले १ लाख १३ हजार ७ सय रुपैयाँको लागतमा ८ वटा फोरके फुल कलर सिसिटिभी क्यामेरा जडान गरिएको जानकारी दिए। क्लबका वर्तमान अध्यक्ष रावत गोम्जा तामाङले यो सामाजिक सेवाको सुरुवाती कार्यक्रम भएको र भविष्यमा अन्य विद्यालयहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।हाल जडान गरिएको ८ वटा क्यामेरालाई आवश्यक परेमा १६ वटा सम्म विस्तार गर्न सकिने जानकारी पनि उनले दिए।

कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ आई नेपालका डिष्ट्रिक एड्मिनिष्ट्रेटर टंकराज अधिकारी, एरिया कोअर्डिनेटर निरा कोइराला, रिजन २४ का रिजन चेयरपर्सन हरिहर पराजुली, जोन ५६ का जोन चेयरपर्सन विष्णु प्रसाद तिमिल्सिना, क्लबका संस्थापक अध्यक्ष सनरोज गुरुङ लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन सचिव ई. राजेश अधिकारीले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: