
पोखरा । पोखराका नवरत्न तथा सारङ्गी सम्राट स्वर्गीय झलकमान गन्धर्वको स्मृतिमा हुलाक टिकट प्रकाशन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ। विसं १९९२ मा पोखराको बाटुलेचौरमा जन्मिएका गन्धर्वले नेपाली लोकगीत र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा उल्लेखनीय योगदान पु(याएका थिए। उनीद्वारा सिर्जित दर्जनौं लोकगीत आज पनि लोकप्रिय छन्।
यिनै योगदानको कदरस्वरूप गन्धर्वको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्न संस्कृति प्रेमीहरूले सरकारसँग औपचारिक आग्रह गरेका हुन्। संस्कृतिकर्मी रामबहादुर बानियाँले संचार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङसमक्ष अनुरोध पत्र बुझाउँदै स्व. गन्धर्वको योगदानको चर्चा गरे। मन्त्री गुरुङले उक्त प्रस्तावलाई सकारात्मक रूपमा लिँदै नजिकको भविष्यमै प्रक्रिया सुरु गरिने आश्वासन दिएका छन्।
मन्त्री गुरुङलाई भेट गर्न बानियाँसँगै पोखरा-१६ का पूर्ववडाध्यक्ष दानबहादुर बानियाँ, जीवनप्रसाद आचार्य, नेपाल गन्धर्व समुदाय विकास समाजका दिनेश गायक, सुनिल गायक लगायतको टोली सहभागी थियो।
स्व. गन्धर्वले जीवनभर लोकसंगीत र सारङ्गीको संरक्षणमा समर्पित रहेर काम गरेका थिए। विसं २०६२ साल मंसिर ६ गते ७१ वर्षको उमेरमा उहाँको निधन भएको थियो।
