
पोखरा। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले बिहीबार पोखरामा तीज उत्सव मनाएको छ। कार्यक्रममा शैक्षिक परामर्श क्षेत्रमा महिला सहभागिता र नेतृत्व अभिवृद्धि गर्नुपर्नेमा वक्ताहरूले विशेष जोड दिएका थिए।
कार्यक्रमकी प्रमुख अतिथि गण्डकी प्रदेश प्रेस रजिस्ट्रार विमला भण्डारीले शैक्षिक परामर्शदाताका रूपमा महिलाको सहभागिता बढाउन इक्यान कास्कीले अग्रसर भूमिका खेल्नुपर्ने बताइन्। उनले भनिन्, “इक्यान कास्कीले शैक्षिक क्षेत्र मात्र होइन, अन्य सामाजिक जिम्मेवारी पनि बहन गर्दै आएको छ। अब विदेश गएका विद्यार्थीलाई सशक्त र सक्षम बनाइ स्वदेश फर्काउने अभियानमा समेत सक्रिय भूमिका खेल्नुपर्छ।” साथै, गण्डकी प्रदेश सरकारले युवा तथा शिक्षा सम्बन्धी गतिविधिमा इक्यानसँग सहकार्य गर्न तयार रहेको उनले स्पष्ट पारिन्।
इक्यानका केन्द्रीय उपाध्यक्ष भुवनबहादुर क्षत्रीले महिलालाई नेतृत्व तहमा पुर्याउन संस्था प्रतिबद्ध रहेको बताए। उनले भने, “महिलाको सहयोग महत्वपूर्ण रहे पनि यो क्षेत्रमा उनीहरू ओझेलमा परेकै देखिन्छ।” अष्ट्रेलियाको सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट तथा अष्ट्रेलियन सिटी इन्टरनेशनल कलेजकी निर्देशक रञ्जु थापाले महिला शिक्षित हुँदा परिवार र समाज नै शिक्षित हुने धारणा व्यक्त गरिन्।
उनले शिक्षा क्षेत्रलाई मात्र व्यवसाय नभई सामाजिक एवं आर्थिक मूल्य-मान्यता परिमार्जन गर्ने माध्यमको रूपमा हेर्नुपर्ने बताइन्। लैंगिक समानताको सन्दर्भमा शिव–पार्वतीको दर्शनबाट प्रेरणा लिनुपर्ने उल्लेख गर्दै, “शिव आफै अर्थ नर र अर्थ नारीको प्रतीक हुन्,” भनिन्।
कार्यक्रममा ब्रिलियन्ट एजुकेसनकी निर्देशक कल्पना बस्नेत, एजेन्ट कनेक्टकी निर्देशक तारा गुरुङ, सञ्चारकर्मी तथा व्यवसायी सविता ढकाल, न्याप्सकी मार्केटिङ म्यानेजर गीता राजवहाक लगायतले तीजलाई महिला स्वतन्त्रता र सशक्तीकरणको पर्वको रूपमा मनाउनु पर्ने धारणा राखे।
इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्राले तीज पर्व र महिला सशक्तीकरणलाई जोड्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको जानकारी गराए। साथै, इक्यान कास्कीले भदौ २० र २१ गते पोखरामा आठौं इक्यान शैक्षिक मेला आयोजना गर्न लागिएको पनि बताए।
संस्थाका उपाध्यक्ष सन्तोष शाहीले सहभागीहरूलाई स्वागत गर्दै तीजको शुभकामना व्यक्त गरे। सचिव सुरेन्द्र बरालले कार्यक्रम सञ्चालन गरेका थिए भने संयोजक डम्बरबहादुर जिसीले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रममा कलाकार माया गुरुङ, रामजी पौडेल, विकास नेपाली, प्रशान्त तामाङ लगायतले सांगीतिक प्रस्तुति दिई वातावरण झन् उत्सवमय बनाएका थिए।
