कास्कीको ८ औं जिल्ला सभा सम्पन्न, समन्वय समितिको सबलीकरणमा प्रदेश सरकार उदासीन रहेको आरोप

Share:

पोखरा । पोखरा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्की जिल्लाको आठौं जिल्ला सभा शुक्रबार सम्पन्न भएको छ। सभाको उद्घाटन गण्डकी प्रदेशका विभिन्न जिल्लाका जिल्ला समन्वय समिति प्रमुखहरूले संयुक्त रूपमा गरेका थिए।

उद्घाटन गर्नेहरूमा जिल्ला समन्वय समिति महासंघका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापा, मुस्ताङका प्रमुख माया गुरुङ, लमजुङका प्रमुख पूर्ण बहादुर गुरुङ, कास्कीका प्रमुख लिलाधर पौडेल, तथा तनहुँका प्रमुख शान्तीरमण वाग्ले रहेका थिए।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला समन्वय समिति महासंघ गण्डकीका अध्यक्ष लिलाधर पौडेलले वर्तमान संविधानको मर्मअनुसार जिल्ला समन्वय समिति क्रियाशील रहेको बताए। तर उनले गण्डकी प्रदेश सरकारले कानुनी संरचना निर्माणतर्फ उदासीनता देखाएको भन्दै चासो नदेखाउनु चिन्ताजनक भएको उल्लेख गरे।

उनले भने, प्रदेश सरकारबाट कहिले अस्पताल व्यवस्थापन समिति गठन गरिन्छ भने, लगत्तै खारेज गरिन्छ। जिल्ला समन्वय समितिलाई भनेर बजेट छुट्याइन्छ, तर कानुनी जटिलता देखाएर बजेट नै कटौती गरिन्छ। यस्ता अस्थिर र गैरजिम्मेवार व्यवहारले काम गर्न गाह्रो भएको छ। पौडेलले बिना अध्ययन नीति निर्माण गर्ने र बिना विश्लेषण खारेज गर्ने कार्य प्रदेश सरकारको अपरिपक्वता र समन्वय समितिप्रतिको असहिष्णु दृष्टिकोण भएको टिप्पणी गरे।

पुराना कर्मचारीलाई सम्मान

सो अवसरमा करार तथा ज्यालादारी सेवामा ३० वर्षभन्दा बढी समय काम गरेका ढाकाराम पोख्रेल, बिश्वनाथ पौडेल र सुन्तली विकलाई २हजार ५ सय नगदसहित सम्मान गरिएको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिए।

सभामा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतम, पूर्व जिल्ला विकास समिति कास्कीका सभापति पुण्यप्रसाद पौडेल, उपसभापति श्रीनाथ बराल, जिल्ला समन्वय समिति कास्कीका पूर्व प्रमुख बैनबहादुर अधिकारी क्षेत्री, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर क्षेत्री, स्याङ्जाका जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटीलगायत अन्य गणमान्यहरूको उपस्थिति रहेको थियो। उनीहरूले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यविधी पारित

सभाले जिल्ला समन्वय समिति कास्कीको आन्तरिक नियन्त्रण कार्यविधि तथा आन्तरिक आय व्यवस्थापनसम्बन्धी कार्यविधि पारित गरेको छ। कार्यक्रम जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा उपप्रमुख सरिता मालले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए। सूचना अधिकारी लक्षु शर्माले कार्यक्रमबारे जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: