
पोखरा । गण्डकी बोर्डिङ स्कुलका केही छात्रावासमा रहेका विद्यार्थीहरू अचानक बिरामी परेका छन्। भदौ ६ गते बिहानदेखि उनीहरूमा पेट दुख्ने, वाकवाकी लाग्ने र पखाला लाग्ने लक्षण देखा परेपछि विद्यालयले खाद्य विषाक्तताको आशंका गरेको छ। विद्यालयले यस घटनालाई लिएर सामाजिक सञ्जालमा फैलिएको अतिरञ्जित तथा भ्रामक प्रचारप्रति आपत्ति जनाउँदै स्पष्टिकरणसमेत दिएको छ।
विद्यालयका अनुसार घटनापछि विद्यार्थीहरूलाई तुरुन्तै विद्यालयको स्वास्थ्य केन्द्रमा उपचार गरिएको थियो। बिहान ९ बजेसम्म अन्य केही विद्यार्थीमा पनि यस्तै लक्षण देखिए पनि, प्रारम्भिक उपचार पाएका अधिकांश विद्यार्थीमा पुनः समस्या दोहोरिएको थिएन। केहीमा मानसिक त्रासका कारण लक्षण देखा परेकोसमेत विद्यालयले जनाएको छ।
विद्यार्थीको स्वास्थ्य अवस्था सामान्य भएपछि अधिकांशलाई नियमित तालिकाअनुसार घर पठाइएको थियो भने केहीलाई अभिभावकको जिम्मा लगाएर समयअगावै घर पठाइएको थियो। विद्यालयले अघिल्लो दिन खरिद गरिएको खाद्य वस्तुका कारण समस्या भएको हुन सक्ने आशंका गर्दै, छानबिनका लागि खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय, पोखरालाई पत्राचार गरिएको जानकारी गराएको छ।
प्राचार्य डा. विश्वयुधिर पौडेल घर्तीले भदौ ७ गते एक विज्ञप्ति जारी गर्दै हाल विद्यालयमा कुनै स्वास्थ्य समस्या नरहेको र पठनपाठन भदौ ८ गते आइतबारदेखि नियमित तालिकाअनुसार सञ्चालन हुने जानकारी दिएका छन्।
घटनाको अनुसन्धानका लागि गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयलाई पनि अनुरोध गरिएको छ। मन्त्रालयको प्राविधिक टोलीले विद्यालयको अवलोकन भ्रमण तथा आवश्यक जानकारी संकलन गरिसकेको छ। साथै, विद्यालयको सिनियर म्यानेजमेन्ट टिमले आन्तरिक छानबिनका लागि समिति गठन गरेको छ।

