
अर्घाखाँचीको शितगङ्गा नगरपालिका-१३ शितगङ्गा नगरपालिका स्थित माझिफाँटमा रहेको हिमालयन बाख्रापालन तथा कृषि फार्ममा बाघको आक्रमणबाट ठूलो क्षति पुगेको छ। फार्मका सञ्चालकका अनुसार बाघको आक्रमणबाट ७ वटा बाख्रा मरेका छन् भने ८ वटा अझै बेपत्ता छन्।
फार्म सञ्चालक घनश्याम अधिकारीका अनुसार, बुधबार बाख्रा चराउन जंगल लगिएको बेला फार्मका ३० वटा बाख्रा हराएका थिए। तीमध्ये १ वटा घाइते अवस्थामा भेटिएको छ भने १४ वटा सकुशल फर्किएका थिए। “अन्य बाख्राहरू खोज्दा ७ वटा बाघको आक्रमणमा परी मरेका पाइएको छ, बाँकी ८ वटा अझै बेपत्ता छन्”, अधिकारीले बताए। उनका अनुसार हराइरहेका बाख्रा अहिलेसम्म नभेटिनुले तिनलाई पनि बाघले खाएको हुन सक्ने आशंका गरिएको छ। बुधबारदेखि नै खोजी कार्य जारी छ।
फार्मका अर्का सञ्चालक विष्णु पौडेलले दुई वर्षअघि झन्डै १२ लाख रुपैयाँको लगानीमा बाख्रापालनका लागि संरचना निर्माण गरिएको जानकारी दिए। फार्ममा हालसम्म करिब ३५ लाख रुपैयाँको लगानी भइसकेको छ। बाख्रासँगै ब्रोइलर कुखुरा र बङ्गुर पनि पालिँदै आएको छ।
पौडेलका अनुसार, यसअघि गत जेठमा फार्ममा पालेका २,५०० ब्रोइलर कुखुरामध्ये एकै दिन १,२०० कुखुरा मरेका थिए। बाघको आक्रमण र रोगका कारण पटक-पटक भइरहेको क्षतिले फार्म सञ्चालक चिन्तित छन्। “स्वदेशमै केही गर्नुपर्छ भनेर पशुपन्छीपालनमा लगानी गरेका थियौँ, तर सोचेजस्तो नतिजा आउन सकेन,” पौडेलले गुनासो गरे।
यस क्षेत्रका स्थानीय बासिन्दाका अनुसार पछिल्लो समय बाघको आक्रमण बढ्दै गएको छ। बुधबार राति मात्रै नजिकको भलासिक्र गाउँस्थित एक खोरमा चार वटा बाख्रा जङ्गली जनावरले मारेका थिए भने एक बाख्रा घाइते अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। सिमलपानी प्रहरी चौकीका अनुसार यस्ता घटनामा बाघको संलग्नता भएको आशंका गरिएको छ।
