छोरेपाटन माविमा तीजगीत प्रतियोगिता सम्पन्न, प्रतिक्षा क्षेत्रीको समूह प्रथम

Share:

पोखरा। पोखरा महानगरपालिका-१७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा कक्षा ११ तथा १२ अन्तर्गत शुक्रबार अन्तर समूह स्तरीय तीजगीत प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा प्रतिक्षा क्षेत्रीको समूह प्रथम तथा सलिना बरालको समूह द्वितीय स्थान हासिल गरेका छन्।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले संस्कृति, संस्कार, लैंगिक विभेद, समानता, रीतिरिवाज तथा महिलाका दुःख-सुखसम्बन्धी विविध पक्ष समेटिएको तीजगीत प्रस्तुत गरेका थिए।

प्रतियोगिताको मुल्यांकनमा शिक्षक विमल आचार्य र रेखा थापा निर्णायकको रूपमा सहभागी थिए।कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्माले तीजको मौलिकता जोगाइराख्न आवश्यक रहेको उल्लेख गर्दै चाडपर्व सबै वर्गका मानिसका लागि हुने हुनुपर्नेमा जोड दिए ।

सहायक प्रधानाध्यापक खेमराज बरालले चाडपर्वलाई भड्किलो ढंगले मनाउन नहुने सुझाव दिंदै विद्यार्थीको प्रतिभा उजागर गर्ने माध्यमका रूपमा यस्ता प्रतियोगिताहरू महत्वपूर्ण हुने स्पष्ट पारे ।

त्यसैगरी, सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले तीजलाई सांस्कृतिक पर्वको रूपमा व्याख्या गर्दै विद्यालय विद्यार्थीको चौतर्फी विकासका लागि सधैं सक्रिय रहेको जानकारी दिए।

कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरू तीजगीतमा रमाएका थिए भने विजयी समूहलाई पुरस्कार पनि प्रदान गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक डिल्लीराम बरालले सञ्चालनको भूमिका निर्वाह गरेका थिए ।

त्यस अवसरमा विद्यालयले कक्षा १० सम्मका विद्यार्थीहरूलाई लक्षित गरी अर्को तीजगीत प्रतियोगिता पनि सम्पन्न गरेको छ। विद्यालयले वार्षिक कार्यतालिका निर्माण गरी शैक्षिक तथा अतिरिक्त क्रियाकलाप नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: