
पोखरा । पोखराको बाटुलेचौरमा आयोजना हुने ऐतिहासिक तीज मेला २०८२ का तयारी पूरा भएका छन्। हरितालिका तीजको अवसरमा वडा कार्यालय पोखरा-१६ को समन्वयमा र तीज मेला व्यवस्थापन समितिको आयोजनामा सोमबार (आज) र मंगलबार बाटुलेचौर खेल मैदानमा मेला सम्पन्न हुने भएको हो।
मेलाको आन्तरिक तयारीबाहेकका सबै आवश्यक तयारी पूरा भएको जानकारी कार्यक्रम संयोजक तथा वडा सदस्य राजकुमारी बानियाँले दिएकी छन्। मेलाको सोमबार उद्घाटन पोखरा महानगरपालिकाकी उप-मेयर मञ्जुकुमारी गुरुङले गर्नेछिन्।
मंगलबार समापन गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाको प्रमुख आतिथ्यतामा हुने प्रचार-प्रसार संयोजक मोहन थापाले जानकारी दिए।
कार्यक्रमको प्रमुख आकर्षण
सोमबार बिहान महेन्द्र गुफाबाट मेलास्थलसम्म प्रभातफेरी हुनेछ भने दिउँसो विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता आयोजना गरिनेछ। करिब १५ वटा विद्यालयले प्रतियोगितामा भाग लिने अपेक्षा गरिएको छ। मंगलबार मुख्य आकर्षणको रूपमा करिब २० वटा आमा समूहले सहभागी हुने समूहगत तीज गीत प्रस्तुति रहनेछ।
दुवै दिन चर्चित लोकदोहोरी कलाकारहरू रामजी पौडेल, कृष्ण सुवेदी, सन्ध्या बिसी र गणेश ढकालको सांस्कृतिक प्रस्तुति रहनेछ, जसको जानकारी सहसंयोजक मञ्जु नेपालीले दिइन्।
मेलालाई व्यवस्थित र भव्य बनाउनका लागि मुख्य समिति सहित ८ वटा उप–समिति गठन गरी सक्रिय रुपमा कार्यरत छन्। वडा कार्यालय संरक्षक रहेको यो मेला अघिल्लो वर्ष पनि नागरिक स्तरमै भव्यताका साथ सम्पन्न भएको थियो।
जानकारहरूका अनुसार वि.सं. १५२५ भन्दा पहिलेदेखि नै सेती गङ्गा स्नान गरेर फर्किएका लामाचौर, बाटुलेचौर, भलाम, घार्मी, कुरेचौर, हरिपाउँ र अर्मला क्षेत्रका महिलाहरू बाटुलेचौरमा भेला भई तीज गीत गाउने परम्परा रहँदै आएको छ।
