रक्तदान परोपकारी मात्र होइन, स्वयंको पनि हितमा छ: गण्डकी प्रदेश प्रमुख भट्ट

Share:

पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले रक्तदान परोपकारी कार्य मात्र नभई स्वयंको पनि हितमा रहने बताएका छन्। उनले रक्तदानलाई पवित्र, मानवीय र सामाजिक सेवाका रूपमा लिइनुपर्ने धारणा राखे।

“स्वेच्छिक रक्तदान एउटा महत्वपूर्ण मानवीय तथा सामाजिक सेवा हो,” प्रदेश प्रमुख भट्टले भने, “यस्ता कार्यक्रमले युवा पुस्तामा मानव सेवा र रक्तदानप्रतिको चेतना फैलाउन मद्धत पुर्‍याउँछ।”

उक्त भनाइ राजयोगिनी प्रकाशमणिजीको १८औं पुण्य स्मृति तथा विश्व भाइचाराको दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा राखिएको हो। नेपाल र भारतभर रहेका ब्रह्माकुमारी संस्थाका सेवा केन्द्रहरूले भदौ ६ देखि ९ गतेसम्म अन्तर्राष्ट्रिय रक्तदान शिविर आयोजना गरेका छन्।

प्रदेश प्रमुख भट्टले संस्थाले मानवीय सेवा, एकता र करुणाको भावना बढाउन यस्ता कार्यक्रम सञ्चालन गर्दै आएकोमा आभार व्यक्त गर्दै, यस कार्यलाई पवित्र र समाजसेवामूलक कार्यका रूपमा लिएको बताए।

कार्यक्रममा उनले अध्यात्मिक अभ्यास, ध्यान र आत्मचिन्तनमार्फत् समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गरे। “आजको युगमा मानिसहरूले आफूलाई आत्मा सम्झन छाडेका छन्, जसले गर्दा अधर्म, विकार र अज्ञान फैलिएको छ,” उनले भने, “नयाँ सत्ययुगी सुखमय संसारको स्थापनाको खाँचो छ।”

उनले सबै धर्म र संस्कृतिका मानिसहरूलाई अन्तरआत्मा चिन्न, अनुभव गर्न र राजयोग अभ्यासमार्फत् जीवनमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्न सकिने आशा व्यक्त गरे।

कार्यक्रम ब्रह्माकुमारी अमृत दिदीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पोखरा-७ का वडा अध्यक्ष राममोहन आचार्य, समाजसेवी देवराज चालिसे, तथा संस्थाका महासचिव ब्रह्माकुमार शैलेषराज बराल लगायतले मन्तव्य राखेका थिए।

कार्यक्रममा लेकसाइड शाखा प्रमुख पुनम दिदीले धन्यवाद ज्ञापन गरेका थिए भने छोरेपाटन शाखा प्रमुख ब्रह्माकुमारी दीपा दिदीले कार्यक्रम सञ्चालन गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: