‘पोखरा ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा, माघभित्र सम्पन्न हुने

Share:

पोखरा । पोखरा महानगरपालिका-११ मणिपाल कालिखोलादेखि काँहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। महानगरपालिकाका अनुसार आगामी माघ महिनाभित्र यो पदमार्गको निर्माण कार्य सम्पन्न गरिनेछ।

करिब ४ हजार ५ सय सिँढी बनाइने योजनामध्ये हाल केही सिँढी मात्रै निर्माण गर्न बाँकी रहेको छ। एक किलोमिटर ८ सय मिटर लम्बाइको यो पदमार्गको निर्माण कार्य २०८० सालको वैशाखदेखि सुरु गरिएको थियो। पहिलो चरणमा पोखरा महानगरपालिकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

महानगर प्रमुख धनराज आचार्यका अनुसार मुख्य बजार क्षेत्रबाट नजिकै अवस्थित यो पदमार्ग पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण र आकर्षक मानिन्छ। चालु आर्थिक वर्षमा पदमार्ग निर्माण तथा विकासका लागि ८० लाख रुपैयाँ बजेट छुट्याइएको छ।

निर्माण समितिका अध्यक्ष तीर्थबहादुर बस्नेतका अनुसार पदमार्गमा ढुंगा काटेर सिँढी विच्छ्याउने काम गरिएको छ। पदमार्गमा चारवटा विश्राम स्थल (रेस्ट पोइन्ट) तथा १० वटा भ्यूपोइन्ट निर्माण गरिनेछ। पदमार्ग १० फिट चौडाइको हुने र बीचमा रेलिङ तथा दायाँ–बायाँ तारबारले सुरक्षात्मक घेरा लगाइनेछ।

यो पदमार्ग काँहुकोट क्षेत्रको प्राकृतिक सौन्दर्यको प्रवर्द्धनमा सहयोगी हुने विश्वास लिइएको छ। ‘क्लिन पोखरा, ग्रीन पोखरा’ अभियान अन्तर्गत ट्रेलको दायाँ-बायाँ करीब ४ सय फलफूलका विरुवाहरू रोपिएका छन्।

महानगरपालिकाको दुई लाख २६ हजार विरुवा रोप्ने ‘मेगा अभियान’ अन्तर्गत आरु, आरुवखडा, एभोकाडो, आँप, अम्बा, लिची, कोइरालो, काइँयो, असारे, पलाँस लगायतका विरुवाहरू सो क्षेत्रमा रोपिएको हो।

कमेन्ट गर्नुहोस्
Share: