
पोखरा । लामाचौर तीज महोत्सव २०८२ सोमबार दोस्रो दिन पनि उल्लासपूर्वक जारी रह्यो। नव आदर्श सामुदायिक विकास समाजको २९औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको २७औं तीज महोत्सवको दोस्रो दिन उल्लेख्य मात्रामा दर्शनार्थी तथा सहभागीहरूको उपस्थिति रहेको समाजले जनाएको छ।
सोमबार आयोजित अन्तरविद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा पोखराका विभिन्न १५ वटा विद्यालयले सहभागिता जनाएका थिए। प्रतियोगितामा वेश लाइन एकेडेमी प्रथम, सुर्योदय बोर्डिङ स्कुल द्वितीय र सोसियल पब्लिक स्कुल तृतीय भएका छन्। सेन्ट मेरिज, सरस्वती आदर्श विद्याश्रम र भाष्कर मेमोरियल स्कुललाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ। उत्कृष्ट भेषभूषाको उपाधि कास्की मोडर्नाइज्ड स्कुलले जितेको छ।
प्रतियोगितामा सहभागी विद्यालयहरूको मुल्यांकन मनकुमार श्रेष्ठ, रविन गुरुङ र महादेव न्यौपानेले गरेका थिए। त्यसैगरी, तीज गीत प्रतियोगिताको नतिजा मंगलबार सार्वजनिक गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा चर्चित लोक दोहोरी गायक राजु ढकाल, जानकी तरामी मगर, शिव हमाल र माया गुरुङले आफ्ना तीजे भाका प्रस्तुत गरेका थिए। राजु ढकाल र जानकी तरामीले नयाँ तथा पुराना गीतहरू प्रस्तुत गर्दा दर्शकहरू झुम्मिएर नाचेका थिए। सांस्कृतिक प्रस्तुतिहरूले दर्शकको मन जितेका थिए।
दोस्रो दिनको कार्यक्रमको उद्घाटन कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले गरेकी थिइन्। उनले यस्ता मेला-महोत्सवहरूले कला, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने बताइन्।
महोत्सवको अन्तिम दिन मंगलबार ‘लामाचौर कप’ पुरुष भलिबल प्रतियोगिता तथा अन्तरमावि छात्रा भलिबलको फाइनल खेल, स्रष्टा सम्मान, छात्रवृत्ति वितरण लगायत विविध सांस्कृतिक कार्यक्रम हुने प्रचारप्रसार संयोजक विष्णु प्रसाद गौतमले जानकारी दिए।
महोत्सवको समापन गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाको प्रमुख आतिथ्यतामा हुने जनाइएको छ।
