सिर्जना बहिरा विद्यालयमा सुधारको माग, छलफलपछि विद्यार्थी आन्दोलन स्थगित

Share:

पोखरा । सिर्जना बहिरा माध्यमिक विद्यालयका विद्यार्थीहरूको आन्दोलन सोमबार सहमतिमा पुगेको छ।विद्यालयमा सुधारको माग राख्दै आन्दोलनरत विद्यार्थीहरू पोखरा महानगरपालिका-२६ का वडाध्यक्ष नरेन्द्र थापाको पहलमा बसेको सर्वपक्षीय छलफलपछि सहमतिमा पुगेका हुन्।

छलफलमा विद्यार्थीहरूले उठाएका समस्याबारे पोखरा महानगरपालिका शिक्षा महाशाखामा औपचारिक रूपमा पत्राचार गर्ने सहमति भएको वडाध्यक्ष थापाले जानकारी दिए। साथै, उठाइएका समस्याहरूको छानबिन गर्न समिति गठन गरी अध्ययन गर्ने सहमति समेत भएको उनले बताए।

सहमति अनुसार, विद्यार्थीहरूले अब कुनै निकायविरुद्ध आन्दोलन नगर्ने र शिक्षकहरूले नियमित रूपमा पठनपाठन गराउने प्रतिबद्धता व्यक्त गरिएको छ। छलफलका क्रममा वडाध्यक्ष थापाले छानबिनपछि दोषी देखिए कारबाही गरिने स्पष्ट पार्दै कसैको उक्साहटमा लागेर आन्दोलनमा सहभागी नहुन आग्रह गरे। उनले कुनै समस्या परे सिधै आफूलाई जानकारी गराउन आग्रह समेत गरे।

वडाध्यक्ष थापाले सिर्जना बहिरा मावि फरक प्रकृतिको विद्यालय भएकाले यस संस्थासँग सम्बन्धित समस्या समाधानप्रति आफू गम्भीर रहेको उल्लेख गरे। छलफलमा वडा सदस्य तिर्थबहादुर राजभाट, वडा शिक्षा समिति सदस्य चन्द्रबहादुर रानाभाट, विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाशलाल श्रेष्ठसहितका सदस्यहरू, गण्डकी बहिरा संघका अध्यक्ष किसान तामाङ, उपाध्यक्ष पार्वती भुजेल, महासचिव विश्वमित्र भिरकोटी, सल्लाहकार रमेशमोहन बराल, दोभाषे अञ्जली सुनार, विद्यार्थी प्रतिनिधि भेषराज ढकाल, अमित सुनार, मलिना श्रेष्ठ, अभिभावक गौरादेवी पाईजा, रिंकु मगर, हृदयकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।

विद्यार्थीहरूले विद्यालय प्रशासनले विजय बिकलाई गलत रूपमा फसाएको, आफूहरू सुरक्षित नभएको, पठनपाठनमा समस्या रहेको, विद्यालयमा आर्थिक अनुशासनको अभाव रहेको लगायतका गुनासाहरू राख्दै आएका थिए। आफ्ना माग सुनुवाइ नभएको भन्दै विद्यार्थीहरूले विगत केही दिनदेखि पठनपाठन अवरुद्ध पार्दै संघर्षका कार्यक्रमहरू सञ्चालन गर्दै आएका थिए।

कमेन्ट गर्नुहोस्
Share: