पोखरा १६ मा तीज मेला धुमधामसँग सुरु, महिला दौड र सांस्कृतिक प्रस्तुति आकर्षण

Share:

पोखरा । पोखराको बाटुलेचौरमा आयोजित ऐतिहासिक तीज मेला २०८२ सोमबारदेखि सुरु भएको छ। तीज मेला व्यवस्थापन समितिको आयोजनामा सुरु भएको मेलाको पहिलो दिन विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भयो, जसमा सुर्योदय बोडिङ स्कुल प्रथम भएको छ।

१० वटा विद्यालय सहभागी प्रतियोगितामा सरस्वती आदर्श विद्याश्रम द्वितीय, प्रगति स्कुल तृतीय, र विन्ध्यवासिनी मावि सान्त्वना स्थानमा रहे। प्रतियोगिताका संयोजक रामबहादुर बानियाँले जानकारी दिए।

हरितालिका तीजको अवसरमा पोखरा १६ वडा कार्यालयको समन्वयमा सुरु भएको तीज मेलाको उद्घाटन पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जु कुमारी गुरुङले गरिन्। उपप्रमुख गुरुङले बाटुलेचौर क्षेत्र कला, साहित्य र संस्कृतिको उद्गमस्थल भएकाले यसको संरक्षण र जगेर्नाका लागि सबैको साथ र सहकार्य आवश्यक रहेको धारणा राखिन्।

समितिका संयोजक राजकुमारी बानियाँको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पोखरा १७ की वडाध्यक्ष राधिका शाही योगी, हिमालय क्लब महिला उपसमिति संयोजक इन्दु भट्टराई, अन्नपूर्ण माविका व्यवस्थापन समिति अध्यक्ष यमनकाजी गुरुङ, विन्ध्यवासिनी माविका अध्यक्ष सन्दीप थापा तथा कार्यक्रम संयोजक रामबहादुर बानियाँले तीज मेलाको ऐतिहासिक महत्वमा प्रकाश पार्दै यसको संरक्षणमा सबै जुट्नुपर्नेमा जोड दिए।

विद्यार्थीहरूको प्रस्तुतिको मूल्यांकन दिलिप गायक र सजिना गुरुङले गरेका थिए। कार्यक्रममा चर्चित लोक दोहोरी गायक रामजी पौडेल, कृष्ण सुवेदी, सन्ध्या बिसी र गणेश ढकालले लोकप्रिय तीज गीत प्रस्तुत गर्दा दर्शकहरू छमछमी नाचेका थिए।

त्यसक्रममा डान्सर सुरुची विकले उत्कृष्ट नृत्य प्रस्तुति दिएकी थिइन्। कार्यक्रम सञ्चालन भीम गायकले गरेका थिए। उद्घाटन अघि बिहान महेन्द्र गुफादेखि मैदानसम्म प्रभातफेरी सहित २५ वर्षमाथिका महिलाहरूको दौड प्रतियोगिता सम्पन्न भयो।

दौडमा ४० महिला सहभागी भए, जसमा विष्णु खनालले ५ मिनेट ३ सेकेण्डमा दुरी पूरा गर्दै प्रथम स्थान हासिल गरिन्। सम्झना गुरुङ द्वितीय, सविना बास्तोला तृतीय, र बबिता गुरुङ, लक्ष्मी गुरुङ, चोखोमाया गुरुङ उत्कृष्ट खेलाडी घोषित भए। दौडमा सहभागी ७५ वर्षीया दुर्गा केसी थापालाई विशेष प्रोत्साहन स्वरूप सम्मान गरिएको कार्यक्रम संयोजक उदिमबहादुर गुरुङले जानकारी दिए।

महिला दौडको उद्घाटन साविक अर्मला गाविसका पूर्वअध्यक्ष तथा पुरोहित कुलप्रसाद भट्टराईले गरेका थिए। तीजको स्वागतस्वरूप महेन्द्र गुफादेखि खेल मैदानसम्मका सडक किनार र घरघरमा फूलसहितको घडा राखेर विशेष झाँकी प्रदर्शन गरिएको प्रचारप्रसार संयोजक मोहन थापाले जानकारी दिए।

यस कार्यमा मैदान आमा समूह, जनजागरण आमा समूह, र मैदान टोल विकास संस्थाले सहजीकरण गरेका थिए। मंगलबारको कार्यक्रमको मुख्य आकर्षणका रूपमा समूहगत तीज गीत प्रस्तुति रहने छ।

कमेन्ट गर्नुहोस्
Share: