
पोखरा । पोखरा महानगरपालिकाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललाई औपचारिक रूपमा स्वागत गरिएको छ। उनलाई नगर प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रवक्ता मोतीलाल तिम्सिना, दलका नेता दिवसमान प्रधानाङ्ग र राधिका कुमारी शाही योगी सहित महाशाखा प्रमुख, शाखा प्रमुख तथा महानगरका कर्मचारीहरूले स्वागत गरे।
प्रशासकीय अधिकृत अर्याल यसअघि लोक सेवा आयोग, जलेश्वर कार्यालयमा कार्यरत थिए। लामो समयदेखि निजामती सेवामा कार्यरत रहँदै आएको अनुभव बोकेका अर्यालले सेवा प्रवाह, विकास निर्माण र सुशासन प्रवर्द्धनमा प्रतिबद्धताका साथ काम गर्ने प्रतिबद्धता जनाए। साथै, पोखरा महानगरवासीलाई प्रभावकारी सेवा प्रदान गर्न पारदर्शी समन्वयमा विशेष ध्यान दिने बताए।
नगर प्रमुख आचार्यले स्वागत गर्दै नागरिकको सेवामा पारदर्शिता र जवाफदेहिता कायम गर्ने उद्देश्यले कर्मचारी संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए। उपप्रमुख गुरुङले समन्वय र सहकार्यलाई सशक्त बनाउँदै समृद्ध पोखरा निर्माणमा सबै मिलेर योगदान गर्नुपर्ने आवश्यकता औंल्याए।
महानगर कार्यालयले, प्रशासकीय अधिकृत अर्यालको विगतको अनुभव र पर्यटकीय राजधानी पोखराको विशिष्टताले सेवा प्रवाहमा थप ऊर्जा दिने विश्वास व्यक्त गरेको छ।

