
पोखरा। लेखनाथ उद्योग वाणिज्य संघको १५औं अधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी चुलिएको छ। भदौ २० र २१ गते हुने अधिवेशनलाई लक्षित गर्दै अध्यक्षसहित सम्पूर्ण पदका उम्मेदवारहरू तीव्र घरदैलो अभियानमा जुटेका छन्।
अध्यक्ष पदका उम्मेदवार राजेन्द्र ओझा नेतृत्वको प्यानल ‘उद्योगी व्यवसायीको एकता, यसैमा संघको सफलता’ भन्ने नाराका साथ व्यापारी, उद्योगीहरूको घर–घरमा पुगेको छ। ओझाले विगतदेखि नै संघमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएको र अनुभवका आधारमा आफूले चुनाव जित्ने दाबी गर्दै आएका छन्।
व्यवसायीहरूबाट प्राप्त समर्थन, माया र आत्मीयताले आफूलाई अझ उत्साहित बनाएको बताउँदै ओझाले स्थानीय उत्पादनको प्रवर्द्धन, हस्तकला, घरेलु उद्योग र कृषिजन्य वस्तुको बजारीकरणमा जोड दिने प्रतिवद्धता जनाएका छन्। उनले गुणस्तरीय बजार पूर्वाधार, उद्योगी व्यवसायीको डिजिटल प्रोफाइल, नेटवर्किङ प्लेटफर्म, अनलाइन रजिष्ट्रेशन तथा ई–पेमेन्ट प्रणालीलाई सहज बनाउने योजना अघि सारेका छन्।
ओझा नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा उपेन्द्रराज सुबेदी ‘राजु’, प्रथम उपाध्यक्षमा मेनुका श्रेष्ठ, महासचिवमा जीवन तिवारी, उपमहासचिवमा लक्ष्मीप्रसाद ढुंगाना, कोषाध्यक्षमा टिकाराम सापकोटा, र कार्यसमिति सदस्यहरूमा कृष्णप्रसाद सुबेदी, घनश्याम ढुंगाना, किशोर अधिकारी, नवराज पौडेल, सन्तोष हमाल, शिवराज अधिकारी, सुरेन्द्र गुरुङ, भीमप्रसाद सुबेदी ‘सन्तोष’, महिला सदस्यमा लक्ष्मी ठाकुर सुनार र सपना सुबेदी तिवारी, एसोसिएट सदस्यमा प्रवेश बन्जारा तथा संस्थागत सदस्यमा वीरभद्र कंडेल छन्।
अर्कोतर्फ, संघकी वर्तमान महासचिव जानुका पराजुली अधिकारीको नेतृत्वमा अर्को प्यानल पनि चुनावी मैदानमा उत्रिसकेको छ। उनले पनि आफ्ना उम्मेदवारसहित मतदाताको घरदैलोमा पुगेर चुनावी अभियानलाई तीव्रता दिएकी छन्।
हाल दुवै समूहका उम्मेदवारहरू व्यवसायी मतदाताको विश्वास जित्न सक्रिय देखिएका छन्। संघको नेतृत्व सम्हाल्न चाहने दुवै पक्षबीच प्रतिस्पर्धा चर्किंदै गएको छ। आगामी अधिवेशनले लेखनाथको उद्योग वाणिज्य क्षेत्रमा कस्तो नेतृत्व चयन गर्छ भन्ने चासो व्यवसायीबीच बढ्दो छ।
