कास्कीमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना अभियान संचालन हुने

Share:

पोखरा। नेपाल परिवार नियोजन संघ कास्कीले १६ देखि २१ वर्ष उमेर समूहका किशोर-किशोरीलाई लक्षित गर्दै यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतनामूलक अभियान संचालन गर्ने भएको छ।

संघका अध्यक्ष नवीन सिग्देलका अनुसार चालु आर्थिक वर्षको असार मसान्तसम्म अभियान संचालन गरिनेछ। कास्की जिल्लाका विभिन्न विद्यालय तथा कलेजमा पुगेर अभियान संचालन गरिने जनाइएको छ। २३ वटा स्थानमा कार्यक्रम आयोजना गर्ने तयारी गरिएको छ भने स्थानीय सरकारहरूसँग सहकार्यको पहल पनि भइरहेको संघले जनाएको छ।

पछिल्लो समय युवालाई लक्षित यौन तथा प्रजनन स्वास्थ्य शिक्षा अभावग्रस्त बन्दै गइरहेका बेला संघको यो पहल महत्वपूर्ण मानिएको छ। संघका वरिष्ठ शाखा प्रवन्धक नवराज तिवारीले भने, “लक्षित वर्गमा पुगेर प्रभावकारी रूपमा अभियान संचालन गरिनेछ। अभियानमा जोडिन विद्यालय तथा कलेजहरूलाई सक्रिय सहभागिताको आग्रह गरेका छौं।”

अभियान अन्तर्गत किशोर-किशोरीहरूलाई सुरक्षित यौन व्यवहार, अनिच्छित गर्भ रोकथाम, लैङ्गिक हिंसा, यौनजन्य संक्रमण लगायतका विषयमा स्पष्ट जानकारी दिइनेछ।

पोखरा–१२, उपकार मार्गस्थित नेपाल परिवार नियोजन संघ कास्की शाखाले परिवार नियोजन सेवा, सुरक्षित गर्भपतन, पुरुष बन्ध्याकरण, यौनजन्य संक्रमणको परामर्श तथा उपचार, बाँझोपनको समाधान, पाठेघरको मुखको क्यान्सर परीक्षण, एचआईभी परीक्षण तथा परामर्श र सुरक्षित मातृत्व सेवा जस्ता विषयमा सेवा प्रदान गर्दै आइरहेको छ।

स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने र दीर्घकालीन प्रभाव पार्ने यस्ता संवेदनशील विषयमा शिक्षालाई प्राथमिकता नदिएको सरकारी तथा गैरसरकारी तहको बेवास्ताबीच संघको यो पहल सराहनीय र सन्देशमूलक मानिएको छ।

कमेन्ट गर्नुहोस्
Share: