
पोखरा। ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले चार दिनमा देशभरबाट ११ हजार ९१६ पिन्ट रगत संकलन गरेको छ। संस्थाको समाजसेवा प्रभागको आयोजनामा भदौ ६ गतेदेखि सुरु भएको राष्ट्रव्यापी रक्तदान अभियानअन्तर्गत उक्त रक्त संकलन भएको हो।
संस्थाका नेपाल महासचिव राजयोगी ब्रह्माकुमार शैलेषराज बरालका अनुसार, यो अभियान राजयोगिनी दादी प्रकाशमणिज्यूको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा गरिएको हो।
संस्थाले नेपाल र भारतमा १०० घण्टामा १ लाख पिन्ट रगत संकलन गर्ने लक्ष्य लिएको छ। नेपालमा काठमाडौं, विराटनगर, नारायणगढ, राजविराज, वीरगञ्ज, पोखरा, दाङ, बुटवल, हेटौंडा, जनकपुर, भैरहवा, धनगढी, पाल्पा, बाग्लुङ र नेपालगञ्ज लगायतका स्थानमा रक्त संकलन कार्यक्रम सञ्चालन गरिएको थियो।
भदौ ६ गते मात्र ५ हजार ४७ पिन्ट रगत संकलन भएको संस्थाले जनाएको छ। यो संख्या नेपालमा हालसम्म एकै दिनमा संकलन भएको रगतको सन्दर्भमा नयाँ रेकर्ड समेत भएको उल्लेख गरिएको छ।
ब्रह्माकुमारी विश्वविद्यालयले मानसिक शान्तिको लागि योग अभ्यास र आत्मिक विकासका कार्यक्रमहरू संचालन गर्दै आएको छ। तर, मानव जीवन रक्षाका लागि रक्तदानमार्फत समाजमा पुर्याएको योगदानले संस्थाको सामाजिक उत्तरदायित्व र प्रभावकारिता पुष्टि गरेको बताइएको छ।



