
पोखरा। गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परम्परागत तीजगीत प्रतियोगिताहरूले नेपाली समाजमा मौलिक भाका र संस्कृति जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
पोखराको मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजद्वारा आयोजित ११औं मालेपाटन तीजगीत प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश प्रमुख भट्टले पछिल्लो प्रविधि र जीवनशैलीको प्रभावमा मौलिक तीज परम्परामा असर परेको भन्दै यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताए।
उनले भने, “निराहार व्रत बस्नुअघि माइत गएर खाइने दर अहिले होटल र पार्टी प्यालेसमा हप्तौँअघि खाने चलन बढ्दो छ। शिष्ट तीज गीत सुन्नै मुस्किल अवस्था छ। यस्तो समाजिक परिवेशमा सूर्यचन्द्र विकास समाजले आयोजना गरेको तीजगीत प्रतियोगिताले हाम्रा मौलिक भाकाहरू जीवन्त राख्न मद्दत पुर्याउनेछ।”
प्रदेश प्रमुख भट्टले संस्कृति समाजको जीवनशैली भएको उल्लेख गर्दै भने, “मानव धर्म, भाषा, शिष्टाचार, अनुष्ठान र कला संस्कृतिमा समाहित हुन्छ। नेपाली संस्कृति धेरै पुरानो, समृद्ध र विविधतायुक्त छ। यसलाई संरक्षण गर्न युवा पुस्ताको सक्रियता आवश्यक छ।”
उनले संस्कृतिको नराम्रा पक्षलाई सुधार गर्दै सकारात्मक पक्षलाई जोगाइराख्नुपर्ने आवश्यकता औँल्याए। “समयअनुसार परिवर्तन आवश्यक हुन्छ, तर मूल्य, मान्यता र पहिचान भने कायम राख्नुपर्छ,” भट्टले जोड दिए।
प्रदेश प्रमुख भट्टले थपे, “हामीले सन्ततिलाई दिने सम्पत्ति भनेकै हाम्रो संस्कार, संस्कृति, रीतिरिवाज र परम्परा हो। धार्मिक, सामाजिक, सांस्कृतिक तथा वैज्ञानिक महत्व भएका पर्वहरूको संरक्षण गर्नु हामी सबैको साझा कर्तव्य हो।”
तीन दशकदेखि समाजसेवामा सक्रिय संस्था
सूर्यचन्द्र विकास समाजले स्थापना भएको २०५१ सालदेखि साहित्य, संस्कृति, राष्ट्रिय कवि सम्मेलन, दुर्व्यसन सचेतना, स्वास्थ्य शिविर, वातावरण संरक्षण, महिला सशक्तिकरण, पुस्तकालय स्थापना, विद्यार्थी तथा जेष्ठ नागरिक सम्मानजस्ता सामाजिक कार्यहरू गर्दै आएको जानकारी कार्यक्रममा दिइएको थियो।


