लायन्स क्लब पोखरा अन्नपूर्णको अध्यक्षमा कल्याण पराजुली, २५औं छात्रवृत्ति वितरण सम्पन्न

Share:

पोखरा। लायन्स क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्षमा कल्याण पराजुली चयन भएका छन्। पराजुली लायन वर्ष २०२५/२०२६ का लागि निर्वाचित भएका हुन्। नव निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा क्लबको २५औं छात्रवृत्ति वितरण समारोहका साथै क्लबको पहलमा सम्पन्न भएका ४४ विद्यालयका खानेपानी योजना अन्तर्गत, ती विद्यालयका प्रधानाध्यापकहरूलाई विशेष सम्मान गरिएको थियो।

कार्यक्रममा निवर्तमान अध्यक्ष गणेशलाल श्रेष्ठले नव निर्वाचित अध्यक्ष पराजुलीलाई पद हस्तान्तरण गरेका थिए। पदभार ग्रहण गरेपछि अध्यक्ष पराजुलीले क्लबले नेपालमा मात्र होइन, विश्वभरका लायन्स क्लबहरूबीच पृथक पहिचान बनाउन सफल भएको उल्लेख गरे। उनले “हामी सेवा गर्छौं” भन्ने लायन्स क्लबको मूल मन्त्रलाई आत्मसात गर्दै आफ्नो कार्यकालमा विभिन्न योजनाहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

उनका प्रमुख योजनाहरूमा कर्णाली प्रदेशका लायन्स क्लबहरूसँग भगिनी सम्बन्धमार्फत राउटे बस्तीसम्म सेवा पुर्‍याउने, लायन्स र स्थानीय सरकार सँगसँगै भन्ने अभियानलाई साथ दिँदै गण्डकी क्षेत्रमा बिमा तथा जोखिम व्यवस्थापन क्षेत्रमा स्थानीय तहलाई सशक्त बनाउने, पर्यटन प्रवर्द्धन गर्न स्थानीय सरकार र व्यवसायीसँग सहकार्य गरी होमस्टे सेवा प्रभावकारी बनाउनेजस्ता कार्यक्रमहरू समावेश छन्। साथै, उनले अन्य लायन्स तथा लियो क्लबहरूसँग साझेदारी गर्दै कार्यक्रम सञ्चालन गर्ने प्रयास गर्ने जनाए।

कार्यक्रममा विभिन्न विद्यालयहरूमा क्लबले खानेपानीका लागि टंकी निर्माण, कालीगण्डकी नदीको कटान रोकथाम, छात्रवृत्ति तथा पोशाक वितरण, आँखा तथा स्वास्थ्य शिविर सञ्चालन, कर्णालीदेखि भारतीय दार्जिलिङ, सिक्किम, कालिङपोङ र बोधगया सम्म सेवा कार्यक्रमहरू सञ्चालन गरिएको स्मरण गरियो।

डिस्ट्रिक्ट ३२५ जे का सचिव पुरुषोत्तम वस्नेतले निर्वाचित अध्यक्ष कल्याण पराजुली र सूर्य बराललाई ‘डिजी मेडल’ प्रदान गरेका थिए। छात्रवृत्ति वितरण तथा टंकी निर्माण कार्यक्रमका संयोजक सोनाम साङपोका अनुसार, कक्षा १ देखि स्नातक तहसम्म अध्ययनरत २४ जना विद्यार्थीलाई प्रति विद्यार्थी १५ हजारदेखि ७५ हजार रुपैयाँसम्म गरी कुल ७ लाख २७ हजार ५ सय रुपैयाँ छात्रवृत्ति वितरण गरिएको थियो। उनले ७० प्रतिशत विद्यार्थीहरूमा अस्वस्थताको कारण दूषित पानी देखिएपछि विभिन्न दाताहरूको सहयोगमा खानेपानी टंकी निर्माण गरिएको जानकारी दिए। क्लबले हालसम्म ५६ वटा विद्यालयमा टंकी निर्माण गरिसकेको पनि उनले बताए।

कार्यक्रममा मल्टिपल डिस्ट्रिक्ट काउन्सिल चेयरपर्सन मिलन थापा, फर्स्ट भाइस गभर्नर ध्रुव थापा, डिस्ट्रिक्ट गभर्नर लायन मिलन बाबु मल्ल, मल्टिपल कोअर्डिनेटर योगेन्द्र प्रधान, भाइस डिस्ट्रिक्ट गभर्नर लायन प्रजापति बास्तोला, रिजन ५ का प्रमुख लायन दिनेश चालिसे, चिफ एडभाइजर कृष्ण प्रसाद शर्मा, स्याङजाको चण्डिका माविका प्रधानाध्यापक अमृत शेरचन तथा छात्रवृत्ति प्राप्त लमजुङकी कल्पना क्षेत्री लगायतले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

कमेन्ट गर्नुहोस्
Share: