
पोखरा। पोखरा महानगर-१३ बाझापाटनका मृगौला पीडित क्षेत्र बहादुर विकलाई वि १३ युके क्लबले फुटबल प्रतियोगिताबाट संकलित रकमबाट आर्थिक सहयोग गरेको छ। क्लबले विकलाई ३५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो।
वि १३ युके क्लबका अध्यक्ष हिकमत गुरुबले युकेमा आयोजित फुटबल प्रतियोगिताबाट संकलित रकम बुधबार विकलाई प्रदान गरिएको जानकारी दिए। उनले भने, “रोजगारको सिलसिलामा विदेशमा रहेर पनि आफ्नो ठाउँ र समाजप्रति योगदान पुर्याउने वि १३ परिवारलाई धन्यवाद दिन चाहन्छु।”
अध्यक्ष गुरुङका अनुसार क्लबले पोखरामा खेलकुददेखि सामाजिक कामसम्ममा निरन्तर सक्रियता जनाउँदै आएको छ। “वि १३ युकेले हरेकपटक यस्ता सामाजिक कार्यमा हातेमालो गर्दै आएको छ,” उनले थपे।
वि १३ युकेले अगस्ट २ मा आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा नवौं संस्करणको फुटबल प्रतियोगिता आयोजना गरेको थियो। प्रतियोगिता हाम्रो मोर्गेजेज्स र रेड प्रोट एकाउन्टेन्सीको मुख्य प्रायोजनमा सम्पन्न भएको थियो।
प्रतियोगिताको उपाधि झापा फुटबल क्लबले जितेको थियो भने वासिबकोट युथ नेप्लिज कम्युनिटी दोस्रो भएको थियो। खुला तर्फ २० टिम सहभागी थिए।
यस्तै, भेट्रान्स तर्फ धरान ११ पहिलो र प्लुमेस्टेड भिइटी दोस्रो स्थानमा रह्यो।
