
पोखरा। गण्डकी विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यालयको लागि नयाँ भवन निर्माण सुरु गरेको छ। पोखरा महानगरपालिका-३२ मालेपाटनस्थित भवन ४ करोड १५ लाख २४ हजार ३११ रुपैयाँको लागतमा निर्माण हुन लागेको हो।
भवनको शिलान्यास गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले एक विशेष समारोहबीच गरेका हुन्। मन्त्री थापाले समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्। उनले गण्डकी विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाएर आधुनिक प्रविधियुक्त शैक्षिक थलोको रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
“स्थानीय तह र वडाको सहयोगले विश्वविद्यालयले आवश्यक जग्गा प्राप्त गर्न सकेको हो,” मन्त्री थापाले भने, “अपाङ्गमैत्री शौचालय, समयसापेक्ष कोठा र निर्माणको गुणस्तरले शिक्षालाई अझ सुदृढ बनाउनेछ।” उनले निर्माण कम्पनीलाई स्थानीयलाई रोजगारीको अवसर दिन र काम समयमै सम्पन्न गर्न निर्देशन दिए।
गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारीले विश्वविद्यालय शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक उत्तरदायित्वमा अग्रसर रहेको बताए। उपकुलपति प्रा. डा. नवराज देवकोटाले नेपालमै पहिलोपटक ‘मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी (एआई)’ कार्यक्रम सञ्चालन भएको जानकारी दिँदै नयाँ भवनले परीक्षा प्रणालीलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
“श्रोत जुटाउँदै विश्वविद्यालयलाई अघि बढाउने प्रयासमा निरन्तर छु,” उपकुलपति देवकोटाले भने, “नयाँ भवनले परीक्षा गोपनीयता, संवेदनशीलता, सुरक्षा र नियन्त्रण प्रणालीमा मजबुती ल्याउनेछ।”
हाल गण्डकी विश्वविद्यालयमा स्नातक तहका सूचना प्रविधि, फार्मेसी, बीबीए, खेलकुद व्यवस्थापन, आर्ट्स, कानुन र ‘मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी’ गरी ६ शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन्। देशभरका ५५ जिल्लाबाट ५ सयभन्दा बढी विद्यार्थी यहाँ अध्ययनरत छन्।
वडाध्यक्ष अक्कलबहादुर कार्कीका अनुसार विश्वविद्यालयको स्वामित्वमा हाल ५२६ रोपनी जग्गा रहेको छ, जहाँ राष्ट्रिय आविष्कार केन्द्रसहितका विभिन्न पूर्वाधार निर्माण हुँदैछन्।
भवन निर्माणको जिम्मा श्रेष्ठ एसकेआर वस्तु निर्माण कम्पनीले पाएको छ भने आगामी असार २०८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ। कार्यक्रमको सञ्चालन सहायक प्रशासक डोलराज सुवेदीले गरेका थिए।
