कास्कीमा जंगली च्याउ खाँदा ३ जना बिरामी, गण्डकी मेडिकलमा उपचार हुँदै

Share:

पोखरा। कास्की जिल्लाको पोखरा महानगरपालिका-१७ बिरौटा क्षेत्रका तीन जना स्थानीयहरुले जंगली च्याउ खाँदा अचानक बिरामी परेका छन्। उनीहरूलाई समयमै अस्पताल पुर्‍याइएकोले अहिले अवस्था सामान्य रहेको जनाइएको छ।

आज दिउँसो करिब १२:०५ बजे तितेपानी जंगलमा टिपिएको जंगली च्याउ सेवन गरेपछि ४६ वर्षीय तारादेवी आले, ३२ वर्षीय उषा बीक तथा ६० वर्षीय दल बहादुर गुरुङ अचानक अस्वस्थ भएका थिए। बान्ता, टाउको दुख्ने र पेट मर्किने जस्ता लक्षण देखिएपछि उनीहरूलाई दिउँसो ३:४० बजे गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको थियो।

गण्डकी मेडिकल कलेज स्रोतका अनुसार सबै बिरामीको अवस्था अहिले खतरामुक्त रहेको र आवश्यक उपचार गरिँदैछ। चिकित्सकहरूले अज्ञात प्रजातिका जंगली च्याउ सेवन गर्दा विषाक्त असर देखिन सक्ने भन्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्राकृतिक रूपमा पाइने तर वैज्ञानिक रूपमा परीक्षण नभएका च्याउहरू सेवन गर्दा घातक हुनसक्ने भएकाले यस्ता वन्य वस्तु सेवन गर्नु अघि विशेष ध्यान दिन विज्ञहरूको सुझाव छ।

कमेन्ट गर्नुहोस्
Share: