
पोखरा। पोखरा-२५ स्थित गौरीशंकर बहुमुखी क्याम्पसमा लायन्स क्लब अफ पोखरा हेमजाको आयोजनामा शुद्ध खानेपानी ट्यांकी हस्तान्तरण गरिएको छ। लायन्स क्लब अफ पोखरा अन्नपूर्णको संयोजन र द रोमजी स्कुल यूकेको आर्थिक सहयोगमा निर्माण गरिएको यो ट्यांकी लायन्स क्लबको ५४औं खानेपानी ट्यांकी हो।
कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनल ३२५ जे नेपालका प्रथम भाइस गभर्नर एमजेएफ लायन प्रजापति बाँस्तोलाले ट्यांकी हस्तान्तरण गर्दै लायन्स क्लबले समस्याग्रस्त क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे। “जहाँ समस्या, त्यहीँ लायन्स,” उनले भने, “शुद्ध खानेपानीका यस्ता दीर्घकालीन समाधानले संस्थाको प्रतिबद्धता झल्काउँछ।”
कार्यक्रममा विशेष अतिथि पोखरा महानगरपालिका वडा नं २५ का अध्यक्ष तथा नगर प्रवक्ता मोतिलाल तिम्सिनाले लायन्स क्लबले हेमजा क्षेत्र लगायत पोखरामा शिक्षा, स्वास्थ्य र सामाजिक सेवामा पुर्याएको योगदानको प्रशंसा गर्दै जनप्रतिनिधि र लायन्स क्लबको उद्देश्य एउटै भएको बताए।
स्वस्थ समाजका लागि दीर्घकालीन पहल
खानेपानी ट्यांकी निर्माण कार्यक्रमका निर्देशक तथा लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष सोनाम साबपोकाले कार्यक्रमको पृष्ठभूमिमा प्रकाश पार्दै बताए कि २२ वर्षअघि पोखराका विद्यालयमा गरिएको परीक्षणमा करिब ७०% विद्यार्थीमा अस्वस्थ पानीका कारण स्वास्थ्य समस्या देखिएको थियो। त्यसयता तीन सयभन्दा बढी युरोगार्ड वितरण गरिए पनि विद्युत अभाव र मर्मतको कठिनाइका कारण स्थायी समाधानको खोजीमा सन् २०१७ देखि ट्यांकी निर्माण सुरु गरिएको हो।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवकृष्ण पौडेलले लायन्स क्लबप्रति धन्यवाद ज्ञापन गर्दै यस किसिमको सहयोगले शैक्षिक संस्था र विद्यार्थीको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेल, लायन्स इन्टरनेशनल ३२५ जे नेपालका गण्डकी एरिया चिफ महेश श्रेष्ठ, जोन ९ का जोन चियर पर्सन तिर्थ श्रेष्ठ लगायतका विशिष्ट व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गरे।
कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ पोखरा हेमजाका अध्यक्ष दुर्गाप्रसाद पौडेलले गरेका थिए। स्वागत मन्तव्य प्रथम उपाध्यक्ष सुरेश श्रेष्ठले, राष्ट्रिय झण्डा अभिवादन निवर्तमान अध्यक्ष सन्तमान श्रेष्ठले र कार्यक्रम सञ्चालन सचिव कृष्णमान श्रेष्ठले गरेका थिए।
