गण्डकी प्रदेश सरकारले क्यान्सर रोगीलाई थप १ लाख रुपैयाँ उपचार सहायता दिने, यी अस्पतालबाट लिन सकिने सेवा

Share:

पोखरा। गण्डकी प्रदेश सरकारले क्यान्सर रोगका बिरामीहरूलाई थप १ लाख रुपैयाँसम्मको आर्थिक सहायता उपलब्ध गराउने भएको छ। गण्डकी प्रदेशका स्थायी बासिन्दाहरूलाई लक्षित गर्दै ल्याइएको यस नयाँ कार्यक्रम अन्तर्गत सहयोग काठमाडौं, ललितपुर, भक्तपुर र चितवनका ६ विशिष्टीकृत अस्पतालहरूबाट प्राप्त गर्न सकिनेछ।

स्वास्थ्य मन्त्रालयको सूचना अनुसार यो सहायता सुविधा संघीय सरकारको ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम’ अन्तर्गतको सहायता उपयोग गरिसकेपछि मात्र प्राप्त गर्न सकिनेछ।

सहायता पाउने अस्पतालहरूमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल), काठमाडौं निजामती कर्मचारी अस्पताल मीनभवन, कान्ति बाल अस्पताल महाराजगञ्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर तथा  बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर रहेका छन् ।

कसरी पाउने सहायता ?

बिरामी गण्डकी प्रदेशको स्थायी बासिन्दा हुनुपर्छ।

पहिले संघीय सरकारद्वारा प्रदान गरिने विपन्न नागरिक कार्यक्रमको सुविधा लिइसकेको हुनुपर्छ।

संघीय सहायता उपयोग गरेपछि माथि सूचीकृत कुनै एक अस्पतालमा भर्ना भएका बिरामीले मात्रै यो सुविधा माग गर्न सक्नेछन्।

निवेदन तथा स्वघोषणा फाराम सम्बन्धित अस्पतालबाट नै उपलब्ध हुनेछ।

अन्य कुनै सिफारिस पत्र आवश्यक पर्दैन।

सिधै अस्पताललाई भुक्तानी

मन्त्रालयका अनुसार, सहायता रकम बिरामी वा परिवारजनलाई नगद रूपमा नदिइ अस्पताललाई सिधै उपचार खर्च बराबरको शोधभर्ना उपलब्ध गराइनेछ। चिकित्सा सेवा महाशाखाका प्रमुख डा. रमेश कुमार केसीले हस्ताक्षर गरेको सूचनामा प्रदेश सरकारले क्यान्सरजस्ता गम्भीर रोगको उपचारमा पहुँच बढाउन यो कार्यक्रम ल्याइएको उल्लेख गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: