३ करोडको लगानीमा बनेको ‘रिमै’ मौलिक कथाको नयाँ स्वाद लिएर आउँदै

Share:

पोखरा । नेपाली सिनेमामा सांस्कृतिक मौलिकता र आदिवासी समुदायको जीवनशैलीलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र ‘रिमै’ आगामी भदौ २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ।

दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र माओत्से गुरुङको मुख्य अभिनय रहेको यस सिनेमाले गुरुङ समाजको जीवन, संस्कार र भावनालाई पर्दामा उतार्ने प्रयास गरेको निर्माण पक्षको भनाइ छ।

चलचित्रको प्रदर्शनपूर्व शुक्रबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा कलाकार तथा निर्माण पक्षले ‘रिमै’ बारे जानकारी दिएका थिए। कार्यक्रममा कलाकार रिश्मा गुरुङ, माओत्से गुरुङ, डिबी गुरुङ र कार्यकारी निर्माता बिरबल घलेको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै कलाकार माओत्से गुरुङले ‘रिमै’ आदिवासी कथाको प्रतिनिधित्व गर्ने चलचित्र भएको उल्लेख गरे। “मेकरहरूको बदलिँदो सोच र दर्शकले मौलिक कथामा देखाएको रुचिका कारण यस्तो विषय उठाउन सम्भव भएको हो,” उनले भने। उनले थपे, “‘रिमै’ भन्ने शब्द गुरुङ भाषामा छोरीचेलीलाई सम्बोधन गर्न प्रयोग हुन्छ। सिनेमामा म एक कठोर बुबाको भूमिकामा देखिएको छु।”

मुख्य पात्र नायिका रिश्मा गुरुङले पनि ‘रिमै’ आफूका लागि विशेष चलचित्र भएको बताइन्। “सुरुमा अफर आउँदा अमेरिका भएकाले नगर्ने सोच थियो। तर अहिले परिस्थिती मिलेकाले गुरुङ संस्कारलाई ठूलो पर्दामा उतार्न पाइयो। यो सिनेमा मैले अपेक्षा गरेर गरेको हुँ,” उनले भनिन्।

‘कबड्डी’ पछि लामो समय सिनेमामा नदेखिए पनि आफू चलचित्र क्षेत्रबाट बाहिर नरहेको बताउँदै उनले कार्यव्यस्तता र अध्ययनका कारण विश्राम लिएको जनाइन्। “अब राम्रो स्क्रिप्ट र टीम भएमा निरन्तरता दिनेछु,” उनले स्पष्ट पारिन्।

सिनेमा क्षेत्रमा सुरुवातमा उत्साह धेरै भए पनि समयसँगै केही कुरा सम्झौता गर्नुपर्ने अवस्था आउने बताउँदै उनले भनिन्, “सुरुवाती पलमा धेरै जोश हुन्छ, तर पछि–पछि कम्प्रोमाइजका कुरा आउँछन्।” ‘रिमै’ को कथावस्तु दर्शकले मन पराउनेमा उनी आशावादी छन्।

कलाकार डिबी गुरुङले चलचित्रले गुरुङ समाज मात्र होइन, सम्पूर्ण नेपाली जीवनशैलीलाई प्रतिबिम्बित गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार, “‘रिमै’ नेपाली सिनेमामा मौलिकताको खोजी हो, जसले हरेक दर्शकलाई आफ्नोपनाको अनुभूति दिनेछ।”

कार्यकारी निर्माता बिरबल घलेले ‘रिमै’ मौलिक कथा, संस्कृति र अभिनयको संगम भएको उल्लेख गरे। करिब ३ करोडको लागतमा निर्माण गरिएको चलचित्रले नेपाली फिल्म क्षेत्रमा फरक स्वाद थप्ने विश्वास उनले व्यक्त गरे। सिनेमाको छायांकन मुख्य रूपमा गुरुङ बस्ती र पहाडी गाउँघरहरूमा गरिएको हो। उनले भने, “यसले ग्रामीण जीवनशैली, संस्कार र संस्कृतिलाई नजिकबाट देखाउने प्रयास गरेको छ।”

सिनेमामा गुरुङ समुदायको मौलिक धुन र ताललाई समेटिएको छ र संगीत पक्षमा विशेष ध्यान दिइएको निर्माण पक्षको भनाइ छ।

उपेन्द्र सुब्बाको कथा र खील बहादुर गुरुङको निर्देशनमा बनेको ‘रिमै’ प्रति निर्माण टोली मात्र नभई कलाकारहरू पनि निकै आशावादी छन्। मौलिक संस्कृतिको स्वाद दर्शकले लिन पाउने भएकाले ‘रिमै’ नेपाली सिनेमामा नयाँ अध्यायको सुरुआत हुने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: