
पोखरा। कपडाको थोक पसल सञ्चालन गर्दै आएकी भगवती बानियाँ केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि लेकसाइडको आफ्नै जग्गामा होटल खोलिन्। तर विमानस्थल सञ्चालनमा आए पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा पाहुना नआएर व्यवसाय धरासायी भयो। मंगलबार उनले सो पीडा तीज गीतमार्फत प्रस्तुत गरिन्।
पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले भदौ १० र ११ गते पोखराको बाराहीघाटमा आयोजना गरेको तेस्रो तीज सांस्कृतिक महोत्सव अन्तर्गत भएको तीज गीत प्रतियोगितामा केसी अध्यक्ष रहेको सञ्जीवनी नारी समूह सहभागी भयो। समूहले पर्यटन व्यवसायीका समस्यालाई तीज गीत, नृत्य र नाटकमार्फत प्रभावशाली रूपमा प्रस्तुत गर्यो।
गीतका भावनात्मक पंक्तिहरू थिए।
“अन्तर्राष्ट्रिय विमानस्थल खर्च भा’ छ खरबौं
पोखरेलीले लगानी गरे अरबौं
अरबौंका लगानीका बने होटल रिसोर्ट
जहाज चल्न सकेन भयो विजोग”
केसीले कपडाको व्यापारबाट भएको आम्दानीले होटलका कर्मचारीको तलब धानिरहेकी बताइन्। उनले गीत लेखन मात्र नभई गीति नाटकको परिकल्पना समेत गरिन्। समूहका सदस्यहरूले पर्यटन व्यवसायी, कर्मचारी, बैंकर, प्रहरी, पर्यटकजस्ता भूमिकामा अभिनय गरे। कुल २६ कलाकार सहभागी थिए। गीतमा आर्थिक मन्दी र सरकारी उदासीनता यथार्थ चित्रण गरिएको थियो।
“आर्थिक मन्दी व्याप्त भा’को बैंक सहकारी उडेको
टुलुटुलु हेर्छ सरकार जनता डुबेको
सम्पदामा सूचीकृत फूलबारी रिसोर्टको
यो त एउटा उदाहरण हो चरम विजोगको”
केसीको होटल नजिकै रहेको अर्को होटल बैंकको ऋण तिर्न नसक्दा चाबी लगाइदिएको घटना पनि गीतमा समावेश गरिएको थियो।
“करोडौंका व्यवसाय बैंकले चाबी लाइदियो
धितो भा’को घरबारी नि सबै खाइदियो
नाम चलेका व्यवसायी सडकमा आइसके
युवाशक्ति विदेश पलायन भइसके”
भ्रमण वर्ष २०२५ नतथा ठोस प्रभाव नदेखिएको भन्दै समूहले सरकारलाई गीतमार्फत ध्यानाकर्षण गर्यो ।
“व्यवसाय गर्नेमाथि सरकारको ध्यान गैदियोस्
देशमा सरकार छ भन्ने आभाष भैदियोस्
एकद्वार प्रणाली, करमा छुट भैदियोस्
पर्यटनमा सरकारको चासो रैदियोस्”
गत वर्षको महोत्सवमा उत्कृष्ट प्रदर्शन गर्दै तीनवटा तीज गीत प्रतियोगितामा पुरस्कृत भएको सञ्जीवनी समूह यसपटक सान्त्वना पुरस्कारमा सीमित रह्यो। केसीका अनुसार, “समूहका सबै सदस्यको सक्रियताले सम्भव भएको हो।” अन्य विजेता समूहहरूमा कमलजैसी आमा समूह प्रथम भएको छ भने उसले ३५ हजार प्राप्त गरेको छ । यस्तै धारापानी आमा समूह द्वितीय भई २५ हजार प्राप्त गरेको छ । खहरे आमा समूह तृतीय भई २० प्राप्त गरेको छ । १० वटा समूहले सान्त्वना स्वरूप १०/१० हजार प्राप्त गरे।
प्रतियोगितामा अधिकांश महिला समूहले पर्यटन, फेवा ताल संरक्षण, पर्यटकीय स्थल प्रवर्द्धन, महिला सहभागिता जस्ता विषय गीतमार्फत उठाएका थिए। बुधबार रस्साकसी, घैंटो फुटाउने, साडी दौडजस्ता रमाइला खेलहरू र महिला सशक्तीकरणबारे ‘टक शो’ कार्यक्रम सम्पन्न भयो।
पत्रकार प्रकाश ढकालले हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेसँग महिला उद्यमशिलता र स्थानीय सरकारको भूमिकाबारे संवाद गरे। कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनसँग पत्रकार प्रतीक्षा काफ्लेले ‘पर्वतारोहण, पत्रकारिता र समाज परिवर्तनमा नारी’ विषयमा सहजीकरण गरिन्।
खेलकुदतर्फ विजेता हुनेमा २५-३५ वर्ष साडी दौडमा आरती खत्री प्रथम, सावित्रा अधिकारी द्वितीय, उर्मिला अधिकारी र सम्झना अधिकारी तृतीय भएका छन् । यस्तै ३५ वर्षमाथि साडी दौडमा निलम प्रधान प्रथम, टीकादेवी न्यौपाने द्वितीय र शान्ति पहारी तृतीय भएका छन्।
रस्साकसीमा टुनार दिदी बहिनी समूह प्रथम तथा महिला क्लब पोखरा-७ द्वितीय भएका छन्।
सेलरोटी बनाउने प्रतियोगितामा कुमारी समूह प्रथम, सञ्जीवनी श्रेष्ठ समूह द्वितीय, दिदी बहिनी समूह, गीता जुम्बा तथा गृहश्रमिक संघ उद्यमशीलता दिदी बहिनी समूह तृतीय भएका छन्।
टेवानकी अध्यक्ष शोभा न्यौपाने पाण्डेका अनुसार, दुई दिनसम्म चलेको महोत्सवमा झन्डै २० हजार दर्शक सहभागी भएका थिए।
