
पोखरा । पोखराको चिप्लेढुंगास्थित सर्वेश्वर व्यवसायी समिति र पराजुली मार्गका व्यवसायीहरूलाई शनिबार कर तथा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ।
सर्वेश्वर मार्ग र पराजुली मार्ग-जुन चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको हो — का होलसेल तथा खुद्रा व्यवसायीहरूको साझा संस्था सर्वेश्वर व्यवसायी समितिले कर कार्यालय पोखरा र ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा यो कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा कर कार्यालय पोखराका कर अधिकृत सोनु काफ्लेले कर सम्बन्धी विषयमा सहजीकरण गर्दै व्यवसायीहरूलाई कर प्रणालीप्रति सजग र उत्तरदायी बन्न आह्वान गरे।
उनले समयमै कर विवरण तयार पारेर तिर्ने, व्यवसाय दर्ता गर्ने, बिल छाप्ने, आम्दानी–खर्च छुट्याएर राख्ने, खरिद र बिक्री खातालाई व्यवस्थित बनाउने जस्ता महत्वपूर्ण बुँदामा जोड दिए।
“बेलाबेला आफ्नो प्यान नम्बर हेरेर कर विवरण सहि छ कि छैन भन्ने कुरा स्वयम् पनि अनुगमन गर्नुपर्छ,” काफ्लेले भने। उनले बिल दुरुपयोग नहोस् भनेर सावधानी अपनाउन र दाखिला गरिएको कर ठिक छ वा छैन भन्नेमा पनि सजक रहन आग्रह गरे।
त्यस अवसरमा ग्लोबल आइएमई बैंकका गण्डकी प्रदेश प्रमुख सुसोमन देवकोटा र न्यूरोड शाखा प्रमुख मन्दीप बरालले व्यवसायीहरूलाई बैंकिङ तथा डिजिटल कारोबारबारे जानकारी दिएका थिए।
उनीहरूले व्यक्ति र व्यवसायका लागि छुट्टाछुट्टै बैंक खाता खोल्नुपर्ने, निजी खातालाई व्यक्तिगत प्रयोजनमा मात्र र व्यवसायिक खातालाई व्यवसायसँग सम्बन्धित कारोबारमा मात्र प्रयोग गर्नुपर्ने स्पष्ट पारे। अन्यथा, खाता दुरुपयोगबाट कानुनी तथा प्राविधिक समस्या आइपर्न सक्ने उनीहरूको चेतावनी थियो।
डिजिटल बैंकिङ सेवाहरू जस्तै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर कोडमार्फत भुक्तानी प्रणाली आदिबारे पनि व्यावहारिक जानकारी दिइएको थियो। कार्यक्रमबारे जानकारी दिँदै सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले भने, “यो अभिमुखीकरणले व्यवसायीहरूलाई करसम्बन्धी समस्या समाधान गर्न तथा डिजिटल बैंकिङ कारोबार सहज बनाउन मद्दत गर्नेछ।”
उनले तालिमपश्चात व्यवसायीहरू कर प्रणालीप्रति सचेत हुने र डिजिटल कारोबारमा दक्ष बन्ने विश्वास व्यक्त गरे। सर्वेश्वर मार्ग र पराजुली मार्ग, पोखराको एक महत्वपूर्ण व्यवसायिक क्षेत्रका रूपमा परिचित छन्। यहाँ स्वदेशी गार्मेन्ट, फेन्सी तथा रेडिमेड कपडा, श्रृंगारका सामग्री, कच्चा कपडा, जुत्ता, चप्पल, झोला, गिफ्ट तथा खेलौनाका सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री हुँदै आएको छ।
सर्वेश्वर मार्गमा स्याङ्जा, वालिङ, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, म्याग्दी, मनाङ, मुस्ताङ, पूर्वी रुकुम र पश्चिम रुकुम जस्ता जिल्लाबाट खुद्रा व्यापारी ग्राहकका रूपमा आउने गरेको समितिका महासचिव विशाल अधिकारीले जानकारी दिए।
