ट्रक व्यवसायीले अर्थतन्त्र चलायमान बनाएका छन् : मन्त्री केसी

Share:

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले ट्रक व्यवसायीहरू केवल मालसामान ढुवानीमा सीमित नभई देशको सम्पूर्ण अर्थतन्त्र चलायमान बनाउने अभिन्न अंग रहेको बताएका छन्।

शनिबार पोखरामा आयोजित गण्डकी ट्रक यातायात व्यवसायी संघको ४८औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन्। मन्त्री केसीले निजी क्षेत्रलाई अर्थतन्त्रको खम्बाका रूपमा सम्बोधन गर्दै व्यवसायीका समस्या समाधानमा प्रदेश सरकार संवेदनशील रहेको बताए।

समस्या समाधानमा प्रदेश सरकार प्रतिबद्ध

उनले बीमा दावी प्रक्रियाको जटिलता, नीति नियम समयानुकूल नहुनु, दक्ष चालकको अभाव, सडक पूर्वाधारको कमजोरी, भारतीय ट्रकहरूसँगको प्रतिस्पर्धा जस्ता चुनौतीबारे आफू जानकार रहेको भन्दै “यी समस्याहरू समाधान गर्न प्रदेश सरकार आफ्नो स्थानबाट सक्दो प्रयासरत छ,” भने।

मन्त्री केसीले पुराना गाडी विस्थापनमार्फत वातावरणीय प्रदूषण न्यूनीकरण, दुर्घटनामा क्षतिपूर्ति सुनिश्चितता, सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्य जस्ता संघका पहलको प्रशंसा गरे। साथै उनले ट्रक व्यवसायीहरूलाई प्रविधिको प्रयोग गर्न आग्रह गर्दै “ट्रकहरूमा जीपीएस ट्र्याकिङ सिस्टम जडान गर्नुहोस्, सुरक्षाको दृष्टिले पनि यो आवश्यक छ” भने।

उनले डिजिटल बिलिङ प्रणाली अपनाएर व्यवसायमा पारदर्शिता र सहजता ल्याउन पनि सुझाव दिए। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश संयोजक केदार पौडेलले सरकारको व्यवसायीप्रति रहेको दृष्टिकोण परिवर्तन हुनुपर्ने बताए। उनले व्यवसायीलाई दोस्रो दर्जाको नागरिकझैं व्यवहार गरिएकोप्रति असन्तुष्टि जनाउँदै, “राज्यलाई कर तिरेर र रोजगारी सिर्जना गरेर साथ दिने व्यवसायीमाथि नै सरकारले कठोर व्यवहार गर्नु कसको पक्षमा काम गर्नु हो?” भन्दै प्रश्न उठाए।

व्यवसायी पलायन गराउने सरकारको नीति ?

संघका संस्थापक अध्यक्ष तेजनारायण तिवारीले सरकारले व्यवसायीलाई निरुत्साहित गर्ने नियत नराख्न आग्रह गरे। अनेक जटिलता दिँदै प्रतिकूल परिस्थितिमा पनि व्यवसाय गरिरहेका व्यवसायीहरूलाई पलायनतर्फ धकेल्ने नीति अवलम्बन नगर्न सरकारलाई सचेत गराए।

संघका अध्यक्ष सुरेन्द्र त्रिपाठीले ट्रक पार्किङको समस्या अहिलेसम्म सरकारी प्राथमिकतामा नपरेको गुनासो गरे। उनले “नेपाली व्यवसायीले भारबहन र अन्य नियम कडाइका साथ पालना गर्दा भारतीय ट्रकलाई ती नियम नलाग्नु र नेपाली व्यवसायीलाई निरन्तर दवावमा राख्नु अनुचित हो,” भन्दै आक्रोश व्यक्त गरे।

उनका अनुसार गण्डकी ट्रक यातायात व्यवसायी संघका सदस्यहरूको मात्रै अर्बौं रुपैयाँको लगानी रहेको छ र त्यसको संरक्षण सरकारको पनि जिम्मेवारी हो।

कार्यक्रममा हेवी इक्विपमेन्ट व्यवसायी संघ कास्कीका अध्यक्ष बालकृष्ण कोइराला, संघका पूर्व वरिष्ठ उपाध्यक्ष हेमराज सुवेदी, वरिष्ठ उपाध्यक्ष कल्याण तिमिल्सिना र महासचिव सोभराज थापालगायतले पनि व्यवसायीका समस्या, चुनौती र समाधानबारे धारणा राखेका थिए।

कमेन्ट गर्नुहोस्
Share: