
पोखरा । पोखरा सांगीतिक कलाकार संघ, नेपालको आयोजनामा सम्पन्न तेस्रो इन्टर स्कुल ब्यान्ड प्रतियोगितामा गण्डकी बोर्डिङ स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको छ। भदौ १३ र १४ गते पोखरा सभागृह हलमा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा गण्डकीले नगद १ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्दै विजेता बनेको हो।
गण्डकीले उपाधिसँगै “बेस्ट भोकल”, “बेस्ट ड्रमर” र “बेस्ट बेस गिटारिस्ट” का विधागत पुरस्कार पनि हात पार्यो। प्रतियोगितामा प्रतिभा मावि ‘ए’ले दोस्रो स्थान हासिल गर्दै नगद ५० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो भने डायमन्ड बोर्डिङ स्कुल तेस्रो स्थानमा रहँदै २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र जित्न सफल भयो। लिड गिटारिस्ट विधामा कास्की मोडर्नाइज्ड स्कुल विजेता बन्यो।
उत्कृष्ट गायन गर्ने विद्यार्थीलाई पाँच हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्र र एक वर्षको निःशुल्क इन्टरनेट सेवा प्रदान गरियो। अन्य विधामा विजयी विद्यार्थीहरूले पनि जनही पाँच हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे, संघका सचिव अमित गुरुङले जानकारी दिए।
‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा कुल १७ टिम सहभागी थिए। सहभागी टिममा डायमन्ड बोर्डिङ स्कुल, कास्की मोडर्नाइज्ड स्कुलका दुई टिम, मदरल्याण्ड सेकेन्डरी स्कुल, ग्लोबल कलिजियट स्कुल, पोखरा एकेडेमी, गण्डकी बोर्डिङ स्कुल, प्रतिभा माविका दुई टिम, हिमालयन बोर्डिङ स्कुल, लाभिन्स रेसिडेन्सियल स्कुल, सगरमाथा मावि, न्यु ग्यालेक्सी मावि, कालिका मावि, गुरुकुल विद्यासदन, पश्चिमाञ्चल मावि र फिस्टेल आइबी वल्ड स्कुल रहेका थिए।
भदौ १३ गते भएको प्रारम्भिक चरणमा प्रस्तुतिका आधारमा १० टिम छनोट गरिएका थिए। यिनै १० टिमबीच भएको अन्तिम प्रतिस्पर्धाबाट गण्डकी बोर्डिङ स्कुलले उपाधि जितेको हो।
प्रतियोगिताको निर्णायक मण्डलमा असिम शेरचन, विनोद बानियाँ र अमित गुरुङ रहेका थिए। विजयी टिमहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, संघका अध्यक्ष हर्कराज गुरुङ (भाइ), कार्यक्रम संयोजक तेज केसी, पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकाल, गण्डकी प्रदेश पर्यटनमन्त्रीका स्वकीय सचिव जीवन उच्चै ठकुरी, गण्डकी प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव मनकुमार श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए।
कार्यक्रममा बोल्दै पोखरा महानगर प्रमुख धनराज आचार्यले यस्ता कार्यक्रमले नयाँ पुस्तालाई संगीततर्फ आकर्षित गर्न र कलाकारिताको विकासमा योगदान पुर्याउने धारणा राखे। यसअघि शुक्रबार गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले प्रतियोगिताको उद्घाटन गरेका थिए। उनले पोखरा जस्तो पर्यटन केन्द्रित सहरमा यस्ता कार्यक्रमले लुकेका प्रतिभा उजागर गर्न मद्दत गर्ने र पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने बताए।
