
पोखरा । ट्रेकिङ्ग इक्विपमेन्ट सप एशोसिएसन (टेसा) पोखराको २७औं वार्षिक साधारण सभा तथा १५औं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट टिकाबहादुर लम्सालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतरूपमा निर्वाचित भएको हो।
नवगठित कार्यसमितिमा प्रथम उपाध्यक्षमा महेन्द्रबहादुर जिसी, द्वितीय उपाध्यक्षमा टिकाराम लम्साल, सचिवमा रमेशराज अधिकारी, सहसचिवमा बुद्धिबहादुर बस्नेत तथा कोषाध्यक्षमा केशवराज बास्तोला निर्वाचित भएका छन्।
त्यस्तै, सदस्यहरूमा योगेश सुवेदी, किरण काफ्ले, हरिमाया ढुंगाना र राजकुमार नेपाली चयन भएका छन्। समितिको निवर्तमान अध्यक्ष प्रमोद भण्डारी हुन्। कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले गरेका थिए। उनले गण्डकी प्रदेशमा पर्यटनको अपार सम्भावना रहेको भन्दै त्यसको प्रवर्द्धनका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने धारणा राखे।
पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटन विकासका लागि साझा प्रयास आवश्यक रहेको बताए।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटनसँग सम्बन्धित संघसंस्थासँग सहकार्य गर्दै प्रवर्द्धनात्मक कार्यक्रम अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको सभापतित्व टेसाका तत्कालीन अध्यक्ष प्रमोद भण्डारीले गरेका थिए। सचिव महेन्द्र जिसीले कार्यक्रम सञ्चालन, प्रथम उपाध्यक्ष टिकाबहादुर लम्सालले स्वागत मन्तव्य, सहसचिव टिकाराम लम्सालले सचिवीय प्रतिवेदन, र कोषाध्यक्ष रमेशराज अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
