हाम्रो बहुउद्देश्यीय सहकारीको २८औं वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमुखी लगानी र पारदर्शितामा जोड

Share:

पोखरा। पोखरा महानगरपालिका-८, न्युरोडस्थित हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २६औं वार्षिक साधारण सभा तथा २८औं विशेष साधारण सभा शनिबार सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा सेयर सदस्य विष्णुप्रसाद कँडेलले गर्दै, सहकारीले विगतदेखि नै वित्तीय अनुशासनमा रहेर काम गर्दै आएको भन्दै सेयर सदस्यहरूलाई निःसंकोच आर्थिक कारोबार गर्न आग्रह गरे। उनले संस्थाले बचतकर्ताको विश्वास जित्ने गरी पारदर्शी रूपमा अघि बढ्नुपर्ने सुझाव पनि दिए।

सल्लाहकार तथा पूर्व अध्यक्ष युवराज त्रिपाठीले सहकारीले विगतमा गरेको कामको प्रशंसा गर्दै शिक्षा, उत्पादन र सेवा क्षेत्रमा अझ मजबुत रूपमा अघि बढे भविष्य उज्यालो हुने विश्वास व्यक्त गरे।

निर्वतमान अध्यक्ष तथा सल्लाहकार उमनाथ बरालले सदस्यहरूको आर्थिक सशक्तीकरण सहकारीको प्रमुख उद्देश्य हुनुपर्ने उल्लेख गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी आवश्यक रहेको धारणा राखे।

पूर्व अध्यक्ष तथा सल्लाहकार बोधराज पौडेलले सेयर सदस्यहरूले संस्थाका गतिविधिप्रति चनाखो भई आर्थिक पारदर्शितामा जोड दिनुपर्ने बताए। यस्तै, सल्लाहकार चन्द्रबहादुर थापाले नेपालकै उत्कृष्ट सहकारी बनाउने उद्देश्यका साथ सम्पूर्ण सेयर सदस्य र सञ्चालक समितिलाई सक्रिय भएर लाग्न आह्वान गरे।

सल्लाहकार नारायण बहादुर कार्कीले उत्पादनशील क्षेत्रमा लगानी गर्न सके सहकारीले राम्रो प्रतिफल दिन सक्ने उल्लेख गर्दै सहकारीले ऐन/कानुनको पूर्ण पालना गरी अघि बढ्नुपर्नेमा जोड दिए।

संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति बसन्त राज अधिकारीले सेयर सदस्यहरूको हकहितलाई प्राथमिकतामा राख्दै आगामी कार्ययोजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा आदर्श समाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक कृष्णप्रसाद बास्तोलाले सहकारीले आफ्ना सदस्यहरूलाई उत्पादनमूलक कार्यमा संलग्न गराउनुपर्ने सुझाव दिए।

साधारण सभाको अवसरमा उत्कृष्ट सेयर सदस्य, उत्कृष्ट बचतकर्ता तथा माध्यमिक, स्नातक र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट नतिजा ल्याउने सेयर सदस्य तथा उनका छोराछोरीहरूलाई पुरस्कृत गरिएको थियो।

त्यसैगरी, संस्थापक सचिव मिलन ज्ञवाली, मिना शर्मा ज्ञवाली तथा सेयर सदस्य सृजन ज्ञवाली र मिना ज्ञवालीले आफ्ना दिवंगत अभिभावकहरूको स्मृतिमा स्थापना गरिएको “प्रेमकुशल अवार्ड” यसपालि सेयर सदस्य कमल कोइरालालाई प्रदान गरिएको थियो।

सचिव नरेश तिमिल्सीनाले सचिवको प्रतिवेदन, कोषाध्यक्ष पिताम्बर पराजुलीले कोषाध्यक्षको प्रतिवेदन, रकम परिचालन उपसमितिका संयोजक गणेश पहारीले वार्षिक प्रतिवेदन तथा लेखा सुपरीवेक्षण समितिका संयोजक राजु पौडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए। ती सबै प्रतिवेदनहरूमा छलफल गरी आवश्यक सुझावसहित पारित गरिएको थियो।

कार्यक्रमको स्वागत उपाध्यक्ष प्रकाश क्षेत्रीले गरेका थिए। कार्यक्रममा सञ्चालक सदस्य रितादेवी कडेल, शिक्षा उपसमितिका संयोजक कमला सुवेदी, सञ्चालक सदस्य निर्देशन कुमार चुल्याजु, सेयर सदस्यहरू कमल कोइराला, गजेन्द्र पोखरेल, ईश्वरी सिग्देल अर्याललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

२०५६ सालमा स्थापना भएको यस सहकारीमा हालसम्म १,१०९ जना सेयर सदस्य छन्। संस्थाको कुल सेयर पुँजी ५ करोड ३६ लाख ५० हजार रुपैयाँ छ। सहकारीले १७ करोड ३८ लाख ९९ हजार ५ सय रुपैयाँ निक्षेप संकलन गरेको छ भने २४ करोड ४१ लाख ७६ हजार ५ सय ८१ रुपैयाँ लगानीमा रहेको जानकारी दिइएको थियो।

कमेन्ट गर्नुहोस्
Share: