
पोखरा। नेपाल–भारत मैत्री संघ कास्की शाखाको मैत्री सभा तथा पाँचौं अधिवेशनबाट जयराम पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नवगठित कार्यसमितिका सदस्यहरूमा धर्मराज आचार्य, मनिका थापा, प्रेमप्रसाद बराल, हरिप्रसाद खनाल, प्रा.डा. अर्जुन आचार्य, उदयकान्त तिवारी, खेमबहादुर गुरुङ, बसन्तराज आचार्य, सुमन गुप्ता, मीरा आचार्य, कृष्णप्रसाद पौडेल र गिरिराज गौतम रहेका छन्। निवर्तमान अध्यक्ष सहप्रा.डा. वीरबहादुर कार्की समितिमा सल्लाहकारको रूपमा रहेका छन्।
अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले गर्दै नेपाल र भारतबीचको सम्बन्धलाई प्रगाढ बनाउन संघको भूमिका महत्वपूर्ण रहेको धारणा राखे। उनले भारतसँगको धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्धलाई अझ मजबुत बनाउन संघले योगदान दिनुपर्नेमा जोड दिए।
नेपाल-भारत मैत्री संघ केन्द्रीय समितिका सह-अध्यक्ष बोधकृष्ण सुवेदीले दुई देशका नागरिकबीचको सम्बन्ध बलियो बनाउन संघले उल्लेखनीय भूमिका खेलिरहेको बताए। संविधानसभा सदस्य शारदा पौडेलले आपसी सद्भाव, समझदारी र सत्प्रेमले नेपाल-भारत सम्बन्धलाई अझ प्रगाढ बनाउने आवश्यकता औँल्याए।
नेपाल-भारत मैत्री संघका केन्द्रीय उपाध्यक्ष हरिराम पौडेलले मित्र राष्ट्रसँगको सम्बन्धलाई चिढाउने भन्दा पनि कूटनीतिक तवरले समस्याको समाधान गर्दै विश्वास र सम्मानको वातावरण बनाउनुपर्ने धारणा राखे।
कार्यक्रमको सभापतित्व कास्की शाखाका निवर्तमान अध्यक्ष सह-प्रा.डा. वीरबहादुर कार्कीले गरेका थिए भने सञ्चालन सचिव गिरिराज गौतमले गरेका थिए। कार्यक्रममा संघका निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका पूर्वअध्यक्ष ऋषि सापकोटा, केन्द्रीय सदस्य सागर खरेल, निवर्तमान अध्यक्ष जगनबहादुर गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
