विश्वकै उच्च स्थानमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’ को चौथो संस्करण लोमन्थाङमा हुने

Share:

पोखरा। ४७ सय मिटर उचाइमा अवस्थित लोमन्थाङमा आयोजना हुँदै आएको विश्वकै उच्च स्थानको गल्फ प्रतियोगिता ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’ को चौथो संस्करण आगामी भदौ २८ र २९ गते सम्पन्न हुने भएको छ। आयोजक मुस्ताङ गल्फ कोर्सका प्रवन्ध निर्देशक इन्द्रधारा विष्टले आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिएका हुन्।

यस वर्षको प्रतियोगितामा नेपालसहित विभिन्न देशका ५५ देखि ६० जना गल्फ खेलाडीको सहभागिता रहनेछ। नेपाली गल्फ क्षेत्रका उत्कृष्ट ४ जना प्रोफेसनल खेलाडीबीच छुट्टै प्रतिस्पर्धा गराइनेछ, जसका विजेताले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। एम्याच्योर खेलाडीहरूका लागि आकर्षक ट्रफीको व्यवस्था गरिएको छ।

पहिलेका संस्करणमा ९ होलमा सीमित रहेको खेल यसपटक १८ होलमा विस्तार गरिएको छ। प्रतियोगिताको सबैभन्दा आकर्षक पक्ष ‘होल इन वान’ का लागि सजाइएको घोडा पुरस्कार स्वरूप राखिएको छ, जुन विश्वमै अद्वितीय मानिएको छ। यसबाहेक विजेता, उपविजेता, ‘बेस्ट ग्रस’, महिला विजेता, वरिष्ठ (सिनियर) विजेता, ‘क्लोजेस्ट टु द पिन’, ‘मस्ट बर्डिज’ र ‘लङ्गेस्ट ड्राइभ’ तर्फ छुट्टाछुट्टै पुरस्कार प्रदान गरिनेछ।

‘टी फर क्लाइमेट’ नारासहित आयोजना हुने यस वर्षको प्रतियोगिताले जलवायु परिवर्तनप्रति जनचेतना फैलाउने उद्देश्य लिएको छ। कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन ख्यातिप्राप्त लोक, आधुनिक तथा सेलो कलाकारहरूको विशेष प्रस्तुति समेत रहने आयोजकले जानकारी दिएको छ।

प्रतियोगिताको सफल आयोजनाका लागि सरकारी तथा गैरसरकारी निकायहरूको सहकार्य रहेको छ। लोमन्थाङ गाउँपालिका र गण्डकी प्रदेश सरकार प्रवर्द्धकका रूपमा रहेका छन् भने प्रभु बैंक, सिटी एक्सप्रेस, बाह्रसिंगे बियर, जर्मन बेकरी र सोल्टी पानी लगायतका संस्थाहरूले प्रायोजन गरेका छन्।

प्रवन्ध निर्देशक विष्टका अनुसार, लोमन्थाङको गल्फ कोर्सलाई विश्वकै उच्चतम उचाइमा अवस्थित मनमोहक गल्फ कोर्सका रूपमा स्थापित गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गराउने अभियान समेत अघि बढाइएको छ।

कमेन्ट गर्नुहोस्
Share: