पोखरामा अनैतिक गतिविधिमा संलग्न १९ जना पक्राउ, ५ दिनको म्याद थप

Share:

पोखरा । पोखरा महानगरपालिका-२, बागलुङ बसपार्क क्षेत्रमा खाजा घरको नाममा अनैतिक गतिविधि सञ्चालन भइरहेको सूचना पाएपछि प्रहरीले विशेष निगरानीसहित छापा मार्दा १९ जना खाजा घर सञ्चालक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शनिबार दिउँसो २ बजेतिर बागलुङ बसपार्क क्षेत्रका विभिन्न खाजाघरहरूमा लागूऔषध प्रयोग, होहल्ला तथा यौनजन्य गतिविधिमा संलग्न रहेको गुप्त सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।

छापामारीका क्रममा कुमारी खाजा घर, बिमला मगर खाजा घर, सफल सचिन खाजा घर, बेल कुमारी खाजा घर, सिमा सुकुटी हाउस, लगायतका संस्थानमा अनैतिक क्रियाकलापमा संलग्न १९ जना सञ्चालक पक्राउ परेका हुन्।

पक्राउ परेकामध्ये अधिकांश महिला छन्, जसले खाजा घर सञ्चालनको आवरणमा आपराधिक क्रियाकलाप गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

प्रहरीले उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरोधी कार्यमा संलग्न भएको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालय कास्कीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलबाट केही आपत्तिजनक सामग्री पनि बरामद गरिएको छ। प्रहरीले यस्ता गतिविधि रोक्न निरन्तर निगरानी बढाउने र आवश्यकता अनुसार कडा कारवाही गर्ने जनाएको छ।

प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब निरीक्षक अविनाश दिपका अनुसार उक्त कार्य प्रहरीले सुरक्षालाई सुनिश्चित गर्न, समाजमा शान्ति सुव्यवस्था कायम राख्न तथा अश्लील र आपराधिक प्रवृत्तिको नियन्त्रणका लागि कारबाही अगाडि बढाएको हो।

कमेन्ट गर्नुहोस्
Share: