
पोखरा। पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु-१४ छात्र तथा छात्रा फुटबल प्रतियोगिताको लिग चरण सम्पन्न भएको छ। कास्की जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगितामा छात्रतर्फ २४ विद्यालय सहभागी छन् भने छात्रातर्फ ६ विद्यालय प्रतिस्पर्धामा छन्।
छात्रतर्फ लिग चरणमा ६ समूह (ए देखि एफ) बाट उत्कृष्ट टोलीहरू छानिएर नकआउट चरणमा प्रवेश गरेका छन्। समूह ‘ए’ बाट बालकल्याण मावि ३ खेलमा ३ जितसहित ९ अंक जोड्दै समूह विजेता बन्यो। भद्रकाली मावि ३ अंकसहित दोस्रो हुँदै अर्को चरणमा पुग्दा, स्नोभ्यू र शान्तिदीप गोल अन्तरका आधारमा प्रतियोगिताबाट बाहिरिए।
अन्य समूहको नतिजा यस्तो छ:
समूह बी: शैनिक आवासीय मावि (९ अंक), हेम्जा बोर्डिङ (४ अंक) नकआउट चरणमा
समूह सी: सोसल पब्लिक र फिस्टेल एकेडेमी अगाडि बढे
समूह डी: शिशु कल्याण बोर्डिङ र बालोदय
समूह इ: गण्डकी र कालिका मावि
समूह एफ: शिशुकल्याण मावि र गुरुकुल सेकेन्डरी स्कुल नकआउट चरणमा प्रवेश
प्रतियोगिताका म्याच कमिस्नर गोपाल थापाका अनुसार लिग चरणको समापनसँगै भोलिदेखि (मंगलबार) नकआउट चरणका खेलहरू सुरु हुनेछन्। साथै, छात्रातर्फको प्रतिस्पर्धा पनि सुरु हुनेछ। प्रतियोगितामा छात्रतर्फ विजेता विद्यालयलाई रु ५० हजार, उपविजेतालाई रु २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ। छात्रातर्फ विजेताले रु २० हजार र उपविजेताले रु १० हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन्।
प्रतियोगिता संचालनमा पोखरा महानगरपालिका प्रवर्द्धकको रूपमा रहेको छ भने प्रदेश खेलकुद परिषद, गण्डकी प्रदेश विशेष सहकार्यमा छ। साथै, बंगलादेशी फुड ब्रान्ड प्रानले रु १ लाख, सहारा क्लब पोखरा र एबीज इन्जिनियरिङले क्रमशः रु ५० हजार का दरले सहयोग गरेका छन्। अन्य संघसंस्थाहरूको समेत उल्लेखनीय सहयोग रहेको आयोजकले जनाएको छ। प्रतियोगिता भदौ १२ गतेबाट सुरु भई भदौ २० गतेसम्म चल्नेछ।
