लेखनाथ उद्योग वाणिज्य संघको १५औं अधिवेशन: ओझा नेतृत्वको प्यानल मतदाताको घरदैलोमा

Share:

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको १५औं अधिवेशन नजिकिँदै गर्दा व्यवसायी नेताहरूले घरदैलो अभियानलाई तीव्र बनाएका छन्। उम्मेदवारहरू मतदातासँग भेटघाट गर्दै आफ्नो पक्षमा समर्थन जुटाउने प्रयासमा छन्।

अध्यक्ष पदका उम्मेदवार राजेन्द्र ओझाले घरदैलो अभियानको क्रममा व्यवसायीहरूलाई “एक कार्यकाल, एक महोत्सव” भन्ने अवधारणामा लेखनाथ महोत्सवलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन्। उनले महोत्सवका कारण स्थानीय व्यवसायीहरूलाई परेको असरप्रति चिन्ता व्यक्त गर्दै हरेक व्यवसायीको समस्याको समाधान गर्दै अघि बढ्ने बताए।

“मैले लामो समय संघमा काम गरेको छु। कोरोनाकाल वा अन्य कठिन परिस्थितिमा पनि सधैं व्यवसायी साथीहरूसँग हातेमालो गर्दै अघि बढेको छु। मलाई व्यवसायीहरूले न्याय गर्ने विश्वास छ,” ओझाले भने।

भदौ २० र २१ गते हुने १५औं अधिवेशनका लागि अध्यक्ष पदका उम्मेदवार ओझाको नेतृत्वमा बनेको प्यानलले “उद्योगी व्यवसायीको एकता, यसैमा संघको सफलता” भन्ने नाराका साथ चुनावी अभियान तीव्र पारेको छ। घरदैलोको क्रममा व्यवसायीहरूले देखाएको माया र आत्मीयताले ओझालाई जितप्रति अझ बढी विश्वस्त बनाएको छ।

ओझाले स्थानीय कृषि उत्पादन, हस्तकला, घरेलु तथा साना उद्योगबाट उत्पादित सामग्रीको प्रत्यक्ष बिक्री तथा गुणस्तरीय बजार पूर्वाधार विकासमा ध्यान केन्द्रित गर्ने योजना सार्वजनिक गरेका छन्।

उनको प्यानलमा रहेका अन्य उम्मेदवारहरू वरिष्ठ उपाध्यक्षमा उपेन्द्रराज सापकोटा ‘राज’, प्रथम उपाध्यक्षमा मेनका श्रेष्ठ, महासचिवमा जीवन तिवारी, उपमहासचिवमा लक्ष्मीप्रसाद ढुंगाना तथा कोषाध्यक्ष टिकाराम सापकोटा रहेका छन् । यस्तै, कार्यसमिति सदस्यहरूमा कृष्णप्रसाद सापकोटा, घनश्याम ढुंगाना, किशोर अधिकारी, नवराज पौडेल, सन्तोष हमाल, शिवराज अधिकारी, सुरेन्द्र गुरुङ , भीमप्रसाद सापकोटा ‘सन्तोष’ महिलामा सदस्यलक्ष्मी ठाकुर तथा सपना सापकोटा तिवारी रहेका छन्।

एसोसिएट सदस्यमा प्रवेश बन्जारा तथा संस्थागत सदस्यमा वीरबहादुर कंडेल रहेका छन् । संघमा हाल २ हजारभन्दा बढी मतदाता रहेका छन्। उम्मेदवारहरू अहिले प्रत्येक मतदाता समक्ष आफ्नो योजना, अनुभव र दृष्टिकोण प्रस्तुत गर्दै निरन्तर जनसम्पर्कमा छन्।

कमेन्ट गर्नुहोस्
Share: