पोखरामा सुदूरपश्चिमेलीले धूमधामका साथ मनाए ‘गौरा पर्व’, प्रदेश प्रमुख भट्ट सहभागी

Share:

पोखरा। सुदूरपश्चिमेली समुदायको मौलिक चाड गौरा पर्व आइतबार पोखरामा उत्साहपूर्वक मनाइएको छ। सुदूरपश्चिम सम्पर्क एवं विकास समाज, पोखराको आयोजनामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट प्रमुख अतिथिका रूपमा सहभागी भए।

कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द पनि विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा बोल्दै प्रदेश प्रमुख भट्टले गौरा पर्वलाई एकताको पर्वको रूपमा वर्णन गर्दै भने, “गौरा पर्वले कुनै भेदभाव नगरी सबैलाई अँगालो मारेर देउडा खेल्न प्रेरित गर्छ। यस पर्वले मानिसबीचको तिक्तता मेटाई नयाँ ताजा सम्बन्ध गाँस्ने काम गर्छ।”

उनले गौरालाई सामाजिक सद्भाव, धार्मिक आस्था र आपसी मिलनको सशक्त माध्यमको रूपमा चिनाए।

देउडा गीत, बिरूडा, र सामूहिकता-गौराको विशेषता

समारोहमा परम्परागत देउडा गीत प्रस्तुत गरिनुका साथै महिलाहरूले बिरूडा (गहुँ, केराउ, गहत, मास, गुरौस) भिजाएर पर्वको विधिवत थालनी गरे।

समाजका अध्यक्ष निरज पन्तका अनुसार भाद्र कृष्ण पञ्चमीदेखि सुरु हुने गौरा पर्वको पहिलो दिन महिलाहरूले व्रत बसेर तामाका भाँडामा पाँच अन्न मिसाएर बिरूडा तयार गर्छन्। दोस्रो दिन सामूहिक रूपमा धारामा बिरूडा धोएर गौरा देवीको प्रतिस्थापन, त्यसपछि सप्तमीको दिन गौरा मन्दिरमा पूजाआजा, दुबधागो चढाउने, अभिषेक र अन्ततः बिरूडा ग्रहण गर्ने परम्परा चलिआएको छ।

सुदूरपश्चिममा गौरा पर्व दसैंभन्दा पनि विशेष मानिन्छ। यस पर्वले पारिवारिक मिलन, सामाजिक समावेशिता, सामूहिकता र भातृत्वको भावना जगाउने उल्लेख कार्यक्रमका वक्ताहरूले गरे। गौरा पर्वको प्रमुख आकर्षण देउडामा धार्मिक गाथा, पौराणिक कथा, साथै सामाजिक विकृति–विसंगतिमाथि व्यङ्ग्य गर्ने चलन छ।

महिलाहरूले यस अवसरमा आफ्ना सुख-दुःखको अभिव्यक्ति देउडामार्फत गर्ने, धमारी, ढुस्को, होरी जस्ता सामूहिक लोकखेल खेल्ने प्रचलन रहेको छ।

गौराले दिन्छ सामाजिक समानताको सन्देश

पर्वको समयमा सामान्य अवस्था वा अभावमा रहेका व्यक्तिहरूले पनि नयाँ लुगा, मिठो खाना पाउने चलनले सामाजिक समानता र सहअस्तित्वको भावना झल्काउँछ। यदि गाउँमा कुनै व्यक्तिको निधन भएको हो भने, त्यो वर्ष गौरा पर्व नगरिने, साटासाटमा सबैले दुःखमा सहभागिता जनाउने चलनले गौराको सामूहिक सहानुभूति र एकता झल्काउँछ।

गौरा पर्वले संस्कृति, भाषा, परम्परा र सामाजिक सद्भावको संरक्षणमा महत्वपूर्ण योगदान दिँदै आएको छ। समग्रमा गौरा पर्व नारीको श्रद्धा, परिवारको मिलन, र समुदायको एकताको अनुपम प्रतीक बनेको छ।

कमेन्ट गर्नुहोस्
Share: