
पोखरा । संघीय शिक्षा ऐनको प्रस्तावित मस्यौदाप्रति असहमति जनाउँदै देशभरका निजी तथा आवासीय विद्यालयहरुले कडा विरोध जनाएका छन्। प्याब्सन, एन प्याब्सन, हिसान, अपेन र एनएएमजस्ता निजी शिक्षा क्षेत्रका पाँच ठूला संघ-संस्थाहरूको संयुक्त आह्वानमा सोमबार देशभर विद्यालयका बसमा कालो झण्डा र व्यानर राखी शान्तिपूर्ण प्रदर्शन गरिएको छ।
कास्की जिल्लामा पनि पोखराका विभिन्न भागहरूमा विद्यालयका बस परिक्रमा गराई विरोध कार्यक्रम गरिएको हो। एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले प्रस्तावित ऐन निजी शिक्षा क्षेत्रविरुद्ध लक्षित रहेको बताउँदै, मागहरू पूरा नभए चरणबद्ध रूपमा विद्यालय बन्द गर्नेसम्मका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन्।
यस्ता छन् निजी विद्यालयहरूको माग
पूर्ण छात्रवृत्ति सम्बन्धी व्यवस्था हटाउनुपर्ने, विद्यालयहरूलाई गैर(नाफामूलक बनाउने प्रस्ताव फिर्ता लिनुपर्ने, पोशाक, स्टेशनरी, खाजा लगायतका शैक्षिक सेवा प्रावधान खारेज गर्नुपर्ने, छात्रवृत्ति वितरणमा विद्यालयलाई अधिकार दिनुपर्ने, पारदर्शी समिति मार्फत व्यवस्थापन गर्न सकिने प्रावधान चाहिने तथा छात्रवृत्तिका विषयमा हालसम्म लागु विभिन्न ऐन, नियमावली र संशोधनहरू खारेज गर्नुपर्ने माग रहेका छन् ।
संघीय शिक्षा ऐनको वर्तमान प्रस्तावले निजी शिक्षा क्षेत्रको अस्तित्व समाप्त पार्ने रणनीति अघि सारेको आरोप निजी विद्यालय सञ्चालकहरूको छ। उनीहरूले निजी विद्यालयलाई कम्पनी ऐन अनुसार मान्यता दिइसकेको अवस्थामा नाफारहित बनाउने प्रस्तावप्रति गम्भीर आपत्ति जनाएका छन्।
दोस्रो चरणको आन्दोलनअन्तर्गत सोमबारको प्रदर्शन गरिएको हो। माग सुनुवाइ नभए देशभरका निजी विद्यालय बन्द गर्ने चेतावनी आन्दोलनरत संस्थाहरूले दिएका छन्।
