गण्डकीमा ४ वर्ष यताकै उच्च प्रगति, मन्त्रीले सार्वजनिक गरे एक वर्षे उपलब्धि

Share:

पोखरा । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीले आफ्नो एक वर्षे कार्यकालको उपलब्धिहरू सार्वजनिक गर्दै ४ वर्ष यताकै उच्च भौतिक र वित्तीय प्रगति हासिल भएको बताएका छन्। मन्त्रीले मिति २०८१ साउन १७ देखि २०८२ साउन १६ सम्मको कार्यकाल अवधिभित्र भएका प्रमुख कार्यहरू प्रदेश सभामा प्रस्तुत गरेका हुन्।

गत आर्थिक वर्ष २०८१/८२ मा मन्त्रालयको भौतिक प्रगति ७९.९१ प्रतिशत र वित्तीय प्रगति ७६.५२ प्रतिशत पुगेको जनाइएको छ, जुन विगत चार वर्षकै उच्च दर हो। प्रदेशभर २३१ वटा बहुवर्षीय सडक योजना सञ्चालनमा रहेकोमा ४५ वटा योजना पूर्ण भएको, साथै २४५.८८ किमी कालोपत्रे सडक, ६६.७३ किमी ग्राभेल स्तरोन्नति, र २९३.६९ किमी कच्ची सडक मर्मतसम्भार भएको जानकारी दिइएको छ।

साथै, ६९ वटा बहुवर्षीय पुल योजना मध्ये १५ वटा पूरा गरिएको, १७ वटा झोलुंगे पुल मध्ये ४ वटा सम्पन्न भएको विवरण उल्लेख गरिएको छ। मन्त्रीले प्रदेशको समग्र प्रगतिमा योगदान दिने मुख्यमन्त्री, मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, सचिवालय र कर्मचारीहरूलाई धन्यवाद दिएका छन्।

नयाँ राइड सेयरिङ नियमावली २०८२ लागू गरिएको छ। ट्रायलको सिन्डिकेट हटाइ आफ्नै गाडीबाट ट्रायल दिन पाउने व्यवस्था गरिएको छ। आगामी दिनमा सवारी चालक अनुमतिपत्र प्रदेशमै छपाइ, सवारी कर र नवीकरण अनलाइन प्रणाली कार्यान्वयनमा ल्याइने जनाइएको छ।

बाढीपहिरोबाट क्षति हुनसक्ने स्थानहरूमा पूर्वतयारीको निर्देशन दिइएको छ। पर्यटकीय सडक तथा ढल निकास सुधारका लागि स्थानीय तहसँग समन्वय गरी योजनाहरू अघि बढाइएको छ।

मन्त्रीले प्रदेशसभा सदस्यहरूलाई आग्रह गर्दै सभा नचलेको समयमा पनि गुनासो वा सुझाव भएमा कुनै पनि समय सम्पर्क गर्न सकिने जानकारी दिएका छन्। एक वर्षभित्र मन्त्रालयले गरेका कामको विस्तृत प्रतिवेदन प्रदेश सभा सचिवालयमार्फत पिजन होलमा राखिएको छ। उक्त दस्तावेज अध्ययन गरी सुझाव दिनुपर्ने आग्रह पनि गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: