
पोखरा। कास्कीको दक्षिण भेगमा अवस्थित पोखरा महानगरपालिका-३३, भरतपोखरीको बाघमारामा भदौ १९ देखि ३० गतेसम्म ‘बाघमारा महोत्सव’ आयोजना हुने भएको छ। स्थानीय शुभतारा युवा क्लबको आयोजनामा हुन लागेको महोत्सवको जानकारी सोमबार पत्रकार सम्मेलनमार्फत दिइएको हो।
क्लबका अध्यक्ष देवेन्द्र सापकोटाको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा सदस्य पुकार कार्कीले अतिथिहरूलाई स्वागत गर्दै महोत्सवको उद्देश्यबारे जानकारी गराएका थिए भने सचिव स्वागत भुसालले कार्यक्रम संचालन गरेका थिए।
कार्यक्रममा बोल्दै वडा नं ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले बाघमारा महोत्सवले सो क्षेत्रको कला, संस्कृति, पर्यटन र आर्थिक गतिविधिमा टेवा पुर्याउने विश्वास व्यक्त गरे। उनले भने, “स्थानीय भाषा, गीत, नृत्य, पोशाक, परम्परा र हस्तकलाको संरक्षण गर्नुका साथै विभिन्न जात-जाति र समुदायलाई एउटै मञ्चमा ल्याएर आपसी सहकार्य र समझदारी बढाउने माध्यमका रूपमा महोत्सव महत्वपूर्ण हुनेछ।”
उनले महोत्सवले स्थानीय उत्पादन, हस्तकला, परिकार र पर्यटन गतिविधिहरूलाई बजारसँग जोडेर आम्दानीमा वृद्धि गर्ने अवसर समेत सिर्जना गर्ने बताए। साथै भरतपोखरीका युवाहरूले शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार र वातावरण संरक्षण जस्ता क्षेत्रमा सकृय भएर विकास निर्माणमा महोत्सवले प्रेरणा दिने अपेक्षा पनि व्यक्त गरे।
१४५ स्टलमध्ये ७० बढी बुकिङ, बालउद्यानदेखि रत्यौलीसम्म
क्लबका अध्यक्ष सापकोटाका अनुसार महोत्सवमा १४५ स्टल रहनेछन्, जसमध्ये ७० भन्दा बढी स्टलको बुकिङ भइसकेको छ। महोत्सवमा फेन्सी, गार्मेन्ट, भाँडा, कृषि, बैक तथा वित्तीय संस्था, रेष्टुरेन्ट, बालउद्यान, विद्यालयस्तरीय नृत्य प्रतियोगिता र रत्यौली जस्ता आकर्षण रहनेछन्।
कार्यक्रममा लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल, पूर्वअध्यक्ष कविराज खनाल, संस्थापक अध्यक्ष भीमपाणि बराल, नेपाल टेलिभिजनका संवाददाता परशुराम शर्मा र पुष्प दाहाल, रेडियो सराङकोटका कमल पौडेल अथकु नेशनल एफएमका सन्दिप पौडेल, रामशरण नेपाली लगायतका पत्रकारहरूको उपस्थिति रहेको थियो। उनीहरूले विभिन्न जिज्ञासा राखेका थिए, जसको जवाफ क्लब अध्यक्ष सापकोटाले दिएका थिए।
उनले सञ्चारकर्मीहरूको निरन्तर साथ, सुझाव र सहकार्यको अपेक्षा गर्दै भने, “यो महोत्सव सांस्कृतिक संरक्षण, सामाजिक एकता, आर्थिक प्रवर्द्धन, पर्यटन आकर्षण, शिक्षा र चेतना अभिवृद्धिको साझा प्रयास हो।”
सन् २०७० मा स्थापित शुभतारा युवा क्लबले समाजमा सामाजिक, सांस्कृतिक र चेतनामूलक गतिविधिहरू गर्दै आइरहेको छ। क्लबले खेलकुद, युवा प्रतिभा विकास, सांस्कृतिक संरक्षण लगायत क्षेत्रमा निरन्तर सक्रियता देखाउँदै आएको छ। विसं २०६९ मा भरतपोखरीमा बरेली युवा क्लबको आयोजनामा पहिलो ‘हुँडीकोट महोत्सव’ सम्पन्न गरिएको थियो भने यसपटक शुभतारा क्लबको पहलमा ‘बाघमारा महोत्सव’ आयोजना गर्न लागिएको हो। क्लबका अनुसार महोत्सव सम्पन्न गर्न करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
